०५ साउन २०८३, मंगलबार
मन्त्री नियुक्ति

धनुषाको किसान आन्दोलनको जग : १५ महिनाअघि स्थानीय चुनाव हारेकी अनितालाई मन्त्री पद

साउन २९, २०८०
काठमाडौं
धनुषाको किसान आन्दोलनको जग : १५ महिनाअघि स्थानीय चुनाव हारेकी अनितालाई मन्त्री पद

२०७९ वैशाख ३० गते जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख पदमा उम्मेदवार बनेकी जनमत पार्टीकी अनितादेवी साहले जम्मा १ हजार ४३७ मत प्राप्त गरेकी थिइन् । जमानत नै जफत भएको साह सातौं स्थानमा थिइन् ।

नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साह सुडीले १३ हजार ४६५ मत ल्याएर प्रमुख पदमा निर्वाचित भए ।

तर त्यसको ठीक १५ महिनामा जमानत जफत भएकी साह संघीय सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्न सफल भएकी छन् । मन्त्री पद उनका लागि पनि ‘सरप्राइज गिफ्ट’ नै भएको छ ।

उसो त केही महिनालगत्तै सम्पन्न भएको प्रतिनिधि सभाको चुनावमा नै समानुपातिक सांसद बनेर उनले लाभ पाइसकेकी थिइन् । जनमत पार्टीका अध्यक्ष डा. सीके राउत भने पार्टीको योगदानकै आधारमा सांसद र मन्त्री बनाएको बताउँछन् ।

राउतले आफ्नो आधिकारिक फेसबूक पेजमा मन्त्री बनेकी अनिताको योगदानबारे उल्लेख गरेका छन् । किसान आन्दोलनको अग्रमोर्चा सम्हालेकी निडर नेत्रीको रूपमा उनले अनिताको परिचय दिएका छन् ।

‘धनुषाको पोर्ताहामा किसान आन्दोलन हुँदा प्रहरीले गोली नै चलाएको थियो, सो गोली लागेर उनका श्रीमान्का साथै अन्य ४ जना कार्यकर्ताहरू घाइते भएका थिए । उनलाई पनि पछि पटक–पटक घेरा हालेर प्रहरीले कुटपिट गरेका थिए,’ राउतले लेखेका छन् ।

आन्दोलनलगत्तै राउतले अनितालाई पार्टीको धनुषा जिल्लाको इन्चार्ज बनाएका थिए । जनकपुरमा सम्पन्न जनमत पार्टीको महाधिवेशन आयोजना समितिका अध्यक्ष समेत उनी बन्न सफल भएकी थिइन् । सोही महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी साहलाई केन्द्रीय सचिव बनाइएको थियो ।

स्थानीय तहको निर्वाचनमा पार्टीले टिकट दिएको थियो । पराजित भए पनि राउतले समानुपातिक सांसद बनाएर पार्टीको प्रमुख सचेतक समेत बनाएका थिए ।

जनमत पार्टीले यसअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वकै सरकारमा खानेपानी मन्त्रालय पाएको थियो । शुरूमा विना विभागीय मन्त्रीको रूपमा शपथ ग्रहण गरेका पार्टी उपाध्यक्ष अब्दुल खानले पछि खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । केही महिनापछि अर्को मन्त्रालयको माग गर्दै जनमतले अब्दुल खानलाई सरकारबाट फिर्ता बोलायो ।  

भौतिक पूर्वाधार मन्त्रालय, शहरी विकास मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमध्ये कुनै एक पाउनुपर्ने माग गर्दै आए पनि नेकपा माओवादी केन्द्रको भागमा परेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई फिर्ता पठाएर उनको ठाउँमा जनमतकी अनिता मन्त्री बन्न पुगेकी हुन् ।

स्थानीय तहमा पराजित भएर मन्त्री बन्ने यात्राको विषयमा अनिताले लोकान्तरसँग भनिन्, ‘मैले त स्थानीय, प्रदेश जुनसुकै चुनाव भए पनि प्रत्यक्ष चुनाव लड्छु भनेर जनकपुरधामको मेयरमा लडेकी थिएँ । जनमत पार्टीको त्यहाँ संगठन नै कमजोर भएको कारण पराजित भएको थिएँ ।’

null

पार्टीमा आफूले गरेको योगदानकै कारण यतिसम्मको पद पाएको उनको कथन छ तर पार्टीका कतिपय कार्यकर्ताहरू भने अनिताको श्रीमान्को योगदानका कारण उनले यतिसम्मको अवसर पाएको बताउँछन् ।

उनका श्रीमान् वैदेशिक रोजगारीमा हुँदाकै अवस्थामा सन् २०११ देखि नै राउतलाई साथ दिँदै आएका थिए । ‘स्वतन्त्र मधेश गठबन्धनको संयोजक हुँदाकै अवस्थादेखि अनिताका श्रीमान् राउतसँग सहकार्य गर्दै आइरहेका थिए,’ जनमत पार्टीका एक नेताले भने, ‘उनले लामो समयदेखि राउतको अभियानमा आर्थिक सहयोग समेत राम्रै गर्दै आएकाले राउतले पुरस्कार दिएको हो ।’

तर अनिता भने आफ्नो श्रीमान्को पार्टीमा योगदानका साथसाथै आफ्नो व्यक्तिगत योगदानका कारण पनि पार्टीले अवसर प्रदान गरेको जिकिर गर्छिन् ।

सुशासन, सेवा प्रवाह आफ्नो पार्टीको मूल नारा रहेकाले मन्त्रालयबाट जनताको सेवा प्रवाहलाई चुस्त–दुरुस्त बनाउन लागिपर्ने उनको कथन छ ।

विज्ञापन खुलाउने पहिलो निर्णय 

मन्त्री साहले पदभार गरेलगत्तै राजपत्रांकित विभिन्न श्रेणीका पदहरूमा विज्ञापन गरी पदपूर्ति गर्न सहजीकरण गर्ने निर्णय गरेकी छन् । ‘चालू आर्थिक वर्ष २०८०/०८१ मा लोक सेवा आयोगबाट निर्धारित तालिका बमोजिम राजपत्रांकित विभिन्न श्रेणीका पदहरूमा विज्ञापन गरी पदपूर्ति गर्ने प्रयोजनार्थ मन्त्रालयका सम्बन्धित महाशाखा प्रमुखको संयोजकत्वमा सेवा समूह सञ्चालन गर्ने मन्त्रालय र राष्ट्रिय किताबखानाका प्रतिनिधि समेत रहेको सहजीकरण समिति गठन गरी माग गर्नुपर्ने संख्या यकिन गरी मन्त्रालयमा सिफारिस गर्ने लगायतका कार्य जिम्मेवारी तोकिएको,’ निर्णयमा उल्लेख छ ।

मन्त्रालयले आयोजना गरेको स्वागत तथा निवर्तमान मन्त्री मोदीको बिदाइ कार्यक्रममा सहभागी भएकी थिइन् । आफूले गरेको राम्रो कामलाई निरन्तरता दिन आग्रह गर्नुका साथै छिटोभन्दा छिटो निजामती सेवा विधेयक संसद्मा ल्याउन मोदीले साहलाई आग्रह गरेका थिए ।

त्यसपछि उनी बुद्धनगरस्थित जनमतको पार्टी कार्यालय पुगेकी थिइन् । अध्यक्ष राउतसहित विभिन्न नेता तथा कार्यकर्ताको त्यहाँ उनले बधाई लिएकी थिइन् । त्यसपछि पुनः मन्त्रालय आएकी उनले विभिन्न जिल्लाबाट आएका शुभचिन्तकदेखि पार्टीका नेता तथा कार्यकर्ताबाट बधाई लिएकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्