
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष तिलकराम कंडेलसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै शुक्रवार विशेष अदालतमा आरोप-पत्र दायर गरिएको हो ।
वडाध्यक्षले विजयनगर गाउँपालिकालाई बुझाउनुपर्ने शंकरपुर ताल ठेक्का (भाडा)बापतको रकम ठेकेदारबाट लिई उक्त रकम गाउँपालिकालाई नबुझाई आफैं हिनामिना गरेको अभियोगपत्रमा उल्लेख छ ।
अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार कंडेलले शंकरपुर तालको ठेक्कावापतको रकम विजयनगर गाउँपालिकाको खातामा जम्मा नगरी आफैंले राखेका थिए ।
६ लाख १० हजार रुपैयाँ यसरी हिनामिना गरेको पुष्टि भएपछि अख्तियारले मुद्दा दायर गरेको हो ।
सोही मुद्दामा तत्कालीन गाविस सचिव कृष्णकुमार चौधरी र ठेकेदार सेराज महम्मदबीच सम्झौता भएकोमा ठेक्का सम्झौता बमोजिमको २ लाख ७० हजार रुपैयाँ हालसम्म पनि दाखिला नभएकाले उनीहरूविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।