
नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालका कर्णाली तथा पहाडी क्षेत्रको उडानमा सहजता प्रदान गर्ने निर्णयलाई वायुसेवा सञ्चालक संघले स्वागत गरेको छ ।
प्राधिरकणले यसअघि १२ बजेपछि दुर्गम तथा पहाडी क्षेत्रमा हुने उडानमा रोक लगाएको निर्णयलाई फिर्ता लिएको छ । प्राधिकरणले हवाई उडानलाई सुरक्षित र सहज बनाउन तोकिएका केही शर्तलाई पनि संघले उड्डयन क्षेत्रको सुधारकै रूपमा लिएको छ ।
दुर्गम क्षेत्रमा बसोबास गर्नेे जनता तथा पर्यटकहरूलाई पर्न गएको कठिनाइलाई मध्यनजर गरी साउन ३२ मा प्राधिरकरणले जारी गरेको सेफ्टि सर्कुलर तथा निर्णयले हवाई उड्डयन सुरक्षामा कोशे ढुंगो सावित हुनेछ भन्दै वायुसेवा सञ्चालक संघले स्वागत गरेको हो । संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उड्डयन सुरक्षा सुधारसहितको कार्यप्रति प्रशंसा गर्दै यस संघलगायत सदस्य वायुसेवा कम्पनीहरुको तर्फबाट हृदयदेखि आभार व्यक्त गर्दछौं ।’ यस सेवामा अन्य समस्याहरू समाधान हुन बाँकी नै रहेकोले सहमति, सहकार्य तथा वार्ताको माध्यमद्वारा समस्या समाधान हुने छन् भन्ने अपेक्षा गरिएको पनि संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
संघले हालको गम्भीर परिस्थितिलाई ध्यानमा राखेर निर्णय गर्ने तालुक निकाय तथा सरोरवाला सबैलाई धन्यावादसहित कर्णाली प्रदेश र नेपालका सम्पूर्ण पाहाडी क्षेत्रका पिडित बासिन्दाहरूको योगदानको उच्च कदरसमेत गरेको छ ।