
सन् १९८२ मा अर्जेन्टिना र बेलायतबीच फकल्यान्ड युद्ध भएको थियो । त्यसयता यी देशबीच राजनीतिक दुश्मनी हुँदै आएको छ । सन् १९८६ को विश्वकप फुटबलको क्वार्टरफाइनलमा डिएगो म्याराडोना नेतृत्वको अर्जेन्टिनाले बेलायतको राष्ट्रिय फुटबल टोली इंग्ल्यान्डलाई २–१ गोल अन्तरले हराएको थियो । म्याराडोनाले हातले गरेको गोल अझै विवादित छ ।
त्यसयता यी दुई टोलीको फुटबलमा पनि दुश्मनी सुरु भयो । यसबीच १९९८ र २००२ को विश्वकपमा पनि दुई टोलीको भेट भएको थियो । १९९८ मा अर्जेन्टिनाले तथा २००२ मा इंग्ल्यान्डले जितेको थियो । त्यसपछि २००५ मा यी दुई टोलीबीच मैत्रीपूर्ण खेल भएको थियो । सो खेल इंग्ल्यान्डले जितेको थियो ।
सन् २००५ पछि अर्जेन्टिनामा लियोनल मेसी युग सुरु भयो । त्यसयता यी दुई टोलीबीच कुनै पनि फुटबल खेल भएको छैन ।
यद्यपि, अहिले आएर यी दुई टोलीबीच मैत्रीपूर्ण खेल हुने चर्चा चलिरहेको छ । इंग्ल्यान्डको फुटबल संघले आफूलाई मैत्रीपूर्ण खेलका लागि प्रस्ताव गरेको अर्जेन्टिना फुटबल संघले जनाएको छ ।
यो वर्ष विश्वविजेता अर्जेन्टिनाले सन् २०२६ मा हुन लागेको विश्वकप छनोटका ६ वटा खेल खेल्ने कार्यक्रम छ । यसर्थ, सन् २०२४ को मार्चतिर अर्जेन्टिना र इंग्ल्यान्डबीच मैत्रीपूर्ण खेल सम्भावना रहेको अर्जेन्टिना राष्ट्रिय फुटबल टोलीको वेब साइट मुन्डो अल्बिसेलेस्टेले जनाएको छ ।
विश्व फुटबलका दर्शकहरूले झण्डै १८ वर्षयता राजनीतिक दुश्मन मानिएका अर्जेन्टिना र इंग्ल्यान्डबीचको मैदानी प्रतिस्पर्धा हेर्न पाएका छैनन् । यसर्थ, यदि खेल भएमा यो रोचक र प्रतिस्पर्धी हुने विश्वास गरिएको छ ।