
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भन्सार नाकाबाट हुने चोरी पैठारी र अवैध आयात नियन्त्रणका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । अहिले मुलुकको अर्थतन्त्रको मुख्य समस्याका रुपमा रहेको अवैध व्यापार नियन्त्रणका लागि सरकारले अधिकतम प्रयास गरिरहेको उनले बताए ।
गृह मन्त्रालयमा आज बसेको कुखुरा तथा कुखुराजन्य वस्तुको गैरकानूनी ओसारपसार नियन्त्रणसम्बन्धी बैठकमा उपप्रधानमन्त्री श्रेष्ठले विभिन्न वस्तुको अवैध व्यापारले नेपालका उद्योगी व्यवसायी समस्यामा परेको मात्र नभई सरकारले समेत ठूलो राजस्व गुमाइरहेको बताए।
“भन्सार नाका र खुला सीमानाबाट हुने चोरी पैठारी व्यवसायीको मात्र समस्या होइन । यस्ता अवैध गतिविधिले व्यवसायी त मारमा परेकै छन्, राष्ट्रले पनि राजस्व गुमाएको छ”, उनले भने, “मुलुक आत्मनिर्भर हुने वस्तुमा पनि बाहिरबाट चोरी पैठारी हुने गरेको देखिएको छ । राजस्व चुहावट नियन्त्रणका लागि सरकार प्रतिबद्ध छ ।”
खुला सिमाना र भन्सार नाकाबाट हुने चोरी पैठारी नियन्त्रणका लागि प्रतिबद्ध भएर लाग्न सुरक्षा निकायलाई निर्देशन दिइसकेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले अवैध व्यापार नियन्त्रणका लागि प्रहरी प्रशासनका तर्फबाट सहयोग रहने प्रतिबद्धता जनाए ।