२९ जेठ २०८३, शुक्रबार
सर्वदलीय बैठकपछि गृहमन्त्री

सुन प्रकरणको छानबिन सीआईबीले नै टुंगोमा पुर्‍याउँछ – गृहमन्त्री

भदौ ३, २०८०
काठमाडौं
सुन प्रकरणको छानबिन सीआईबीले नै टुंगोमा पुर्‍याउँछ – गृहमन्त्री
फाइल फोटो

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विमानस्थल भन्सार बाहिरबाट समातिएको झन्डै ६१ किलो सुन सम्बन्धमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नै निष्कर्षमा पुर्‍याउने बताएका छन् । 

आइतवार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री श्रेष्ठले अहिले भइरहेको छानबिनलाई सीआइबीले निष्कर्षमा पुर्‍याउने बताएका हुन् । 

‘संसद् अवरोध हटाउन भएको छलफल सकारात्मक रुपमा अगाडि बढेको हाम्रो बुझाइ छ, भोलिसम्ममा निष्कर्षमा पुगेर पर्सिदेखि सदन खुल्छ भन्ने विश्वासमा छौं’ पत्रकारको प्रश्नमा गृहमन्त्री श्रेष्ठले भने, ‘अहिले कुनै कन्फ्युजन नहोस्, जुन छानबिन सीआईबीले गरिरहेको छ, त्यही निष्कर्षमा पुग्छ ।’

नेकपा एमालेले सुन तस्करी सम्बन्धमा उच्चस्तरीय छानबिन समितिको माग गरिरहेको छ । गृहमन्त्री श्रेष्ठले भने सुन तस्करीको छानबिन सीआईबीले नै निष्कर्षमा पुर्‍याउने दोहोर्‍याए । 

स्वास्थ्य प्रतिकूलताका कारण आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उपस्थित हुन नसकेको र एमालेका नेताहरूले पार्टीमा छलफल गरेपछि भोलि कुनै निष्कर्षमा पुगिने उनले बताए ।

दलहरूबीच सहमति जुट्न नसकेपछि आइतवारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सूचनामार्फत मंगलवारसम्मका लागि स्थगित गरिएको छ । 

उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमालेले साउन १० देखि प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्