महोत्तरी, २ असोज - मतदानको अघिल्लो दिनको रातलाई निकै संवेदनशील र महत्वपूर्ण मानिन्छ । यही समय हुने चलखेलले उम्मेदवारको जित-हारमा प्रभाव पार्ने गर्छ । मधेसका गाउँमा त आफ्ना जातीय उम्मेदवारलाई जिताउन गोप्य रूपमा जाति बैठार (बैठक) नै बस्छ । बैठकको आह्वान गाउँको माइजन (कुनै पनि जातिको गाउँको नेता) ले गर्छ । हरेक जातको माइजनले कसलाई जिताउने हो, सभामा छलफल गर्छन् ।

‘राम्रोभन्दा हाम्रो' उम्मेदवारलाई जाति बैठारबाट रोजिन्छ । आफ्ना जातका उम्मेदवारलाई सबैले भोट दिने माइजनले निर्णय गर्छ । चुनावमा उम्मेदवारले जति प्रचारप्रसार गरे पनि कसलाई जिताउने भन्ने शक्तिचाहिँ गाउँको माइजनकै हातमा रहन्छ । प्रचार-प्रसार क्रममा छुट्टाछुट्टै पार्टीमा खटिए पनि अन्तिम रात जुनसुकै पार्टीको नेता होस् या कार्यकर्ता, जातीय बैठकमा सहभागी हुन्छ ।
गाउँपिच्छे सबै जातको माइजन (नेता) हुन्छ । माइजनले आफ्नो जातलाई मुख्य प्राथमिकता राख्दै चुनावमा मतदान गर्ने निर्णय लिन्छ । सोहीअनुसार भोलिपल्ट मतदान हुन्छ । यसका कारण जित्ने उमेदवार पनि हार्छन् । हार्ने उम्मेदवार पनि जातीय भोटले जित्ने गर्छन्, अन्नपूर्ण पोस्टमा खबर छ ।