
धरानको भानु चौकमा धेरै चहलपहल हुने गर्छ । कोशी प्रदेशका पहाडी जिल्लामा आउने–जाने सवारीसाधन यही चोकमा भेला हुने गर्छन् । चोकमा एउटा बरको रुखमा चौतारो पनि छ । दिन कटाउनका लागि बूढापाकादेखि युवासम्म यही चौतारामा आएर गफ गर्छन् । पहाड र तराईको सम्बन्ध गाँस्ने चौतारीसमेत यसलाई भनिन्छ । तर शुक्रवार भने भानु चौकमा प्रहरी परिचालन थिए भने सधैँ भिड हुने चौतारोमा केही मानिसमात्रै देखिन्थे ।
यही चौतारोमा धरान उपमहानगरपालिका– ५ का मनकुमार मयुङ पनि गफ गरेर बसिरहेका थिए । उनी धरानमा बसेको ३ दशक भन्दा बढी भयो । उनलाई धार्मिक विषयलाई लिएर निषेधाज्ञा भएकोबारे आफ्नो धारणा राखे । ‘जातीय र धार्मिक द्वन्द्व भनेको सल्किएको आगोजस्तै हो । अहिलेसम्म हामी सबै मिलेर बसेका छौँ,’ उनले भने, ‘अब पनि मिलेर नै बस्न चाहन्छाैँ । हिजोजस्तो थियो भोलि पनि त्यस्तै होस् भन्ने मेरो चाहना छ ।’

मयुङसँगै गफ गरेर बसेका थिए मनबहादुर विश्वकर्मा । २०५९ सालमा संखुवासभाको चैनपुरबाट उनी धरान झरेका हुन् । उनी हाल धरान– ११ मा बस्छन् । उनी ज्याला मजदुरी गरेर जीवन बिताउने गर्छन् । जात र धर्मका नाममा सद्भाव भड्किने खालका कुनै पनि गतिविधि नहोस् भन्ने आफ्नो चाहना रहेको उनले सुनाए । उनले सबै धर्म मान्नेले सबैको सम्मान गर्नुपर्ने बताए ।
त्यही चौतारामै एकजना जनजाति समुदायका मानिस भेटिए । उनले धर्मका नाममा धरानमा जातीय दङ्गाको खतरा बढेको हल्ला फैलिएको कारणबारे आफ्नो धारणा राखे । ‘अरुको धर्मलाई असर पर्नेगरी कुनै पनि गतिविधि गर्नु हुँदैन । सामाजिक सञ्जालमा राख्नु हुँदैन,’ उनले भने ।

शान्ति सुरक्षालाई मध्यनजर गरेर जिल्ला प्रशासन कार्यालय सुनसरीले धरानमा गएराति देखि २४ घण्टे निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञाका कारण गएराति देखिनै बाक्लो मात्रामा धरान छिर्ने नाकाहरूमा प्रहरी परिचालन गरिएको थियो । सार्वजनिक तथा निजी यातायातका साधनलाई समेत आवतजावत गर्न रोक लगाइएपछि तेह्रथुम, संखुवासभा, धनकुटा लगायतका जिल्लामा जाने यात्रु अलपत्र बनेका छन् ।
इटहरीमा भेला भएका हिन्दू धर्मसँग आबद्ध विभिन्न संघ सङ्गठनहरू भने नारा जुलुस गर्दै इटहरी– २० को पानीपियासम्म पुगेका थिए । पानीपिया निषेधित क्षेत्र हो । धरान भने दिनभरी नै शान्त रह्यो । हिन्दू अभियन्ताले शनिवार धार्मिक र्याली आव्हान गरेपछि त्यसको प्रतिकार गर्ने भन्दै प्रचार गरिएपछि धरानका राजनीतिक दल नागरिक समाज र जनप्रतिनिधिले चासो दिएका थिए ।
नागरिक अगुवा, राजनीतिक दल, जनप्रतिनिधिहरूले शान्ति सद्भावलाई लिएर चिन्ता जनाएका थिए ।
बाहिर चर्चा भए जसरी धरानमा धार्मिक सद्भाव खलबलाउने गरी कतै पनि गतिविधि र चर्चा नभएको स्थानीले बताए । सामाजिक सञ्जालमा प्रचार भए जस्तो अवस्था नभएको धरान उपमहानगरपालिकाका पूर्वमेयर तिलक राईले स्पष्ट पारे । यहाँ कुनै पनि समुदायले असुरक्षित महसुस गरेका छैनन् । ‘धरानमा भर्खर–भर्खर आएर बसेकाहरूले अलिक बढी चर्चामा आउनका लागि त्यस्तो गरेको देखिन्छ । सामाजिक सञ्जालमा चर्चा भएजस्तो धरानको अवस्था पनि छैन,’ उनले भने ।
यस विषयमा धरान उपमहानगरपालिका गम्भीर नभएको उनले आरोप लगाए । हल्ला हुनासाथ धर्मगुरू र समाजका अगुवाहरूलाई राखेर छलफल गरेको भए सबै कुरा समाधान यसअघि नै भइसक्ने उनको भनाइ थियो ।
धरानका समस्यालाई लिएर मेयर हर्क साम्पाङले कुनै सरसल्लाह नगर्ने गरेको उनको आरोप छ । धरानलाई धार्मिक पर्यटनको नगरी मान्निछ । यहाँ पिण्डेश्वर, बूढासुब्वा, दन्तकाली लगायतका हिन्दू तथा किरात धर्मलम्बीहरूका मठ–मन्दिर छन् । अनावश्यक हल्लाले धरानको धार्मिक पर्यटनमा असर पर्ने पूर्वमेयर राईले चिन्ता व्यक्त गरे ।

यद्यपि, आफूलगायत इटहरीका दुईजना पूर्वमेयरले बालसन्त जगतगुरु मोहन चरणलाई भेटेर यसबारे छलफल गरेको उनले जानकारी थिए । उनका अनुसार इटहरीमा पूर्वमेयरहरू मनोज मेनाङ्वो र कुमारबहादुर कार्कीले पनि बालसन्तलाई भेटेका हुन् ।
निषेधाज्ञाको परिस्थिति आउनु दुःखद भएकाले अब कस्तो धरान बनाउने भन्ने चिन्ताको विषय भएको दन्तकाली मन्दिरका पुजारी तथा संरक्षक शम्भु खनालले बताए ।
गोरु काटेर खाएको भिडियो तथा फोटो सामाजिक सञ्जालमा आएपछि प्रहरीले धरानबाट दुई व्यक्तिलाई गत ९ साउनमा नियन्त्रणमा लिएको थियो । त्यसपछि धार्मिक द्वन्द्व बढाउने खालका गतिविधि भएका थिए ।

बालगोपाल मन्दिरनजिकै चर्च बनाइएको भन्दै हिन्दू धर्मालम्बीहरूले विरोध गरिरहेका बेला गोरुको मासु खाएको भिडियो तथा फोटाे सार्वजनिक भएको थियो । त्यसपछि हिन्दूधर्मालम्बी थप आक्रोशित बनेका थिए । त्यसपछि हिन्दू धर्म पक्षधरहरूले विरोधस्वरुप आज सभा र्याली निकाल्ने कार्यक्रम तय थियो । यसलाई मध्यनजर गर्दै आज निषेधाज्ञा जारी भएको हो ।
धरानका मेयर हर्क साम्पाङ र राजनीतिक दलले शुक्रवार अलग–अलग वक्तव्य जारी गरी सबै पक्षलाई संयमित हुन अपिल गरेका थिए । शुक्रवार राजनीतिक दलहरूले सद्भाव र्याली निकालेका थिए । अहिले धरानको जनजीवन सामान्य बन्दै गएको छ ।