३१ असार २०८३, बुधबार

विदेश पठाइदिने भन्दै ठगी गरेको अभियोगमा चार जना पक्राउ

भदौ ११, २०८०
काठमाडौं
विदेश पठाइदिने भन्दै ठगी गरेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा चार जनालाई विभिन्न स्थानबाट पक्राउ गरी सार्वजनिक गरेको छ । 

पक्राउ पर्नेमा नवलपरासी देवचुली नगरपालिका–८ घर भई कठमाडौँ टोखा बस्ने ३० वर्षीय समीर आलेमगर, रामेछाप उमाकुण्ड गाउँपालिका–१ घर भई काठमाडौँको गोठाटार बस्ने ३५ वर्षीया शर्मिला सुनुवार, सल्यान कपुरकोट गाउँपालिका–३ घर भई भक्तपुर बस्ने ५१ वर्षीय जगतबहादुर खड्का र कास्की पोखरा महानगरपालिका घर भई ललितपुर बस्ने ४० वर्षीया तारा गुरुङ रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक मिलन केसीले राससलाई जानकारी दिए । 

उनका अनुसार पक्राउ परेकामध्ये मगरले दुई जनालाई क्यानडा पठाइ प्रतिष्ठित मार्केटमा मासिक दुई लाख तलबमा काम लगाइदिने जनाउँदै  पीडितबाट पाँच लाख ४५ हजार ठगी गरेको, सुनुवारले एक जनालाई क्रोएसिया पठाइ फुड प्याकिङमा मासिक एक लाख तलबमा काम लगाइदिने भन्दै पीडितबाट पटकपटक गरी दुई लाख ठगी गरेको, खड्काले एक जनालाई कुँवेत पठाइ बाइक राइडरमा मासिक ५० हजार तलबमा काम लगाइदिने भन्दै पीडितबाट पटकपटक गरी एक लाख ९४ हजार ठगी गरेका आरोपमा पक्राउ गरिएको हो । 

यसैगरी गुरुङले एक जनालाई नेदरल्याण्ड पठाई सुपर मार्केटमा मसिक एक लाख तलबमा काम लगाइदिने जनाउँदै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी तीन लाख ४५ हजार ठगी गरेको आरोपमा पक्राउ गरिएको हो ।

पक्राउ परेकालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक केसीले बताए । 

salt training

कमेन्ट गर्नुहोस्