२५ जेठ २०८३, सोमबार

नेपाली पत्रकारिताका शिखर पुरुष राजेश्वर नेपालीको निधन

भदौ ११, २०८०
धनुषा
नेपाली पत्रकारिताका शिखर पुरुष राजेश्वर नेपालीको निधन

प्रजातन्त्र तथा प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार एवं साहित्यकार राजेश्वर नेपालीको निधन भएको छ ।

पत्रकारिताका भीष्म पितामह पनि भनिने नेपालीको आज बेलुका ८ः१० बजे जनकपुरधामस्थित म्याक्स अस्पतालमा निधन भएको उनका छोरा राघवेन्द्रप्रसाद साहले जानकारी दिए । 

विगत १४ महिनादेखि बिरामी परेका नेपाली गत असोज १२ गतेदेखि ओछ्यान परेका थिए। यसअघि उनलाई भारतको दिल्लीका विभिन्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

आफ्नो जन्मदिनभन्दा सात दिनअघिको तिथिमा नेपालीको निधन भएको हो । उनको जन्म जनकपुरधाम उपमहानगरपालिका–२३ को बेला गाउँमा  विसं २००२ भदौ १९ गते भएको थियो ।

मध्यम वर्गीय परिवारमा जन्मिएका नेपालीले स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेपछि मिसन पत्रकारिताबाट आफ्नो पत्रकारिता जीवन सुरुआत गरेका थिए। उनले विसं २०१५ मा जानकी नौमीमा कविता लेखेर र वाचन गरेर साहित्य लेखन सुरु गरेका थिए।

त्यसपछि उनले देश र समाजको हितका लागि, अधिनायकवादका विरुद्ध, लोकतन्त्र, समाजवाद र समानताका लागि निरन्तर आफ्नो लेखनमार्फत आवाज उठाउँदै आएका थिए । वरिष्ठ पत्रकार नेपालीले २०१८ साल मङ्सिर २६ गतेदेखि पत्रकारिता सुरुआत गरेका थिए ।

नेपाली कांग्रेसका नेता महेन्द्रनारायण निधि र बलराम नायकलाई सोही दिन जनकपुरधामबाट पक्राउ गरिएको थियो । नेताद्वय पक्राउ परेको समाचार ‘नेपाल सन्देश’ पत्रिकामा लेखेर नेपालीले पत्रकारिताको सुरुआत गरेका थिए ।

उनी पछिल्लो लामो समयदेखि बाबासिर र प्रोस्टेट क्यान्सरबाट पीडित थिए । उनको विभिन्न आन्दोलनमा प्रहरीको लाठी चार्जबाट खाएको चोटले मेरुदण्डको हाडसमेत त्यतिबेला भाँचिएको थियो ।रासस

salt training

कमेन्ट गर्नुहोस्