
काठमाडौं, ३ असोज– सोमबार (हिजो) सम्पन्न दूई नम्बर प्रदेशको स्थानीय तह मध्ये धेरै स्थानीय तहमा मतगणना शुरु भएको छ ।
मतगणना शुरु भएका केही ठाउँको प्रारम्भिक नजिता समेत आउन थालेको छ । प्रारम्भिक गणना र मतपरिणाम अनुसार नेपाली कांग्रेस, नेकपा एमाल, माओवादी केन्द्र र संघीय समाजवादी फोरम, राजपा र लोकतान्त्रिक फोरमसहितका ६ दलको उम्मेदवारहरुबीच प्रतिस्पर्धा देखिएको छ ।
निर्वाचन आयोगका अनुसार सोमबार रातिदेखि नै केही स्थानीय तहको मतगणना शुरु भएका हो । आयोगका अनुसार ७० भन्दा धेरै स्थानीय तहको मतगणना जारी छ । पछिल्लो परिणाम अनुसार एमालेले तीन, माओवादी केन्द्रले तीन र नेपाली कांग्रेसले एक तथा संघीय समाजवादी फोरमले एक वडामा जीत निकालेका छन् ।
धनुषाको गणेशमान चारनाथ नगरपालिकाको ११ नम्बर वडा, सिरहाको कर्जन्हा नगरपालिकाको १ नम्बर वडा र बाराको देवताल गाउँपालिकाको एक नम्बर वडामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका हुन् ।
त्यस्तै धनुषाको हंसपुर नगरपालिकाको एक नम्बर वडाको अध्यक्ष, पर्साको पटेर्वा सुगौलीको एक नम्बर वडा र पर्साको विन्दवासिनी गाउँपालिकाको एक नम्बर वडामा एमालेले जीत निकालेको छ ।
सिरहाको लहान नगरपालिकाको वडा नम्बर २ को वडाअध्यक्षमा नेपाली कांग्रेसले जीत निकालेको छ भने सर्लाहीको बरहथवा नगरपालिकाको १८ नम्बर वडामा संघीइ समाजवादी फोरमले जीत निकालेको छ ।
पछिल्लो मतगणना अनुसार नेपाली कांग्रेसले प्रारम्भिक अग्रता कायम गरेको छ । जसअनुसार नेपाली कांग्रेस ६ स्थानीय तहमा अगाडी छ भने ५ स्थानीय तहमा एमाले ४ मा माओवादी केन्द्र ४ मा राजपा र अन्य दलले पाँच स्थानीइ तहमा अग्रता कायम गरेका छन् ।