
एसिया कप क्रिकेटमा श्रीलंकामा आज दिउँसो सवा ३ बजे नेपालले भारतको सामना गर्दैछ । पहिलोपटक एसियाकप खेल्दै गरेको नेपालले पाकिस्तानपछि आज बलियो प्रतिद्वन्द्वी भारतको भारतको सामना गर्न लागेको हो ।
तर, भारतसँगको खेल वर्षात्ले नहुने हो कि भन्ने संशय धेरै छ । किनकी म्याच हुने समयमा पानी पर्ने सम्भावना छ ।
पानी परेर खेल नै रद्द हुने अवस्था आए नेपालले पनि भारतसँगै एक अंक पाउने छ । तर, अंकले नेपाल 'सुपर फोर'मा पुग्ने छैन । किनकी समूह 'ए'बाट नेपाललाई पराजित गरेको पाकिस्तान तीन अंकसहित सुपर फोरमा पुगिसकेको छ ।
भारत र पाकिस्तानबीचको खेल पनि वर्षाका कारण एक इनिङपछि रद्द भएको थियो । यसैले दुवैले एकएक अंक जोडेका छन् । यस्तोमा पाकिस्तानको तीन र भारतको एक अंक छ । अब नेपालसँगको खेल नभएर भारतले एक अंक थप गर्दा उसको दुई अंक हुनेछ ।
यसरी आजको खेल नहुँदा पाकिस्तानको तीन, भारतको दुई र नेपालको एक हुनेछ । यस्तोमा भारत र पाकिस्तान सुपर फोरमा पुग्नेछन् भने नेपाल घर फर्किनेछ ।
पहिलो खेलमा नेपाल एकदिवसीयको एक नम्बर टोली पाकिस्तानसँग २३८ रनको भारी अन्तरले पराजित भएको थियो । पाकिस्तानले नेपालविरुद्ध ६ विकेट क्षतिमा ३४२ रन बनाएको थियो । तर नेपाल २३.४ ओभरमै १०४ रनमा 'अलआउट' हुन पुगेको थियो ।
पाकिस्तानविरुद्ध कुनै समय १२४ हुँदा ४ विकेट गुमाएको स्थितिमा थियो । तर, कप्तान बाबर आजम र इफ्तिखार अहमदले दुई १३१ बलमा २१४ रनको विशाल शतकीय साझेदारी गरेपछि नेपाली टिमविरुद्ध चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको थियो ।
दोस्रो खेलमा भारतले पाकिस्तानलाई २६७ रनको लक्ष्य दिएपछि खेल वर्षाको कारण रद्द हुन पुगेको थियो ।