
काठमाडौं, ३ असोज– तीन महिना सम्म काम लगाएर पारिश्रमिक नदिइ ठेकेदार सम्पर्क विहिन भएपछि जाजरकोटका २६ जना मजदुर काठमाडौंको नयाँ बसपार्कमा अलपत्र परेका छन् ।
दशैको मुखमा घर जान लागेका मजदुरलाई ३ महिना सम्मको पारिश्रमिक नदिई ठेकेदार सम्पर्क बिहिन भएपछि उनीहरु अलपत्र परेका हुन् । काभ्रे भकुण्डेका विष्णु रिजाल नाम गरेका ठेकेदारले जाजरकोटबाट काम लगाइदिन्छु भनेर ल्याएका २६ जना मजदुरलाई तीन महिना सम्म पारिश्रमिक नदिई भागेको पिडितहरुले बताए ।
जाजरकोटका श्रमिक कुमल बहादुर शाहीले लोकान्तरलाई भने, ‘हामीलाई जाजरकोटबाट काम लगाउन काभ्रेमा लगेर तीन महिना सम्म काम लगायो । पैसा दिन्छु दिन्छु भन्दै काम मात्रै लगायो, अहिले सम्म पनि दिएन । अब दशै आयो घर जाने बेलामा ठेकेदारले पैसा नदिइ भागे । हामी त अलपत्र पर्याैं।’
काभ्रेको विभिन्न स्कुल तथा सडकमा पर्खाल लगाउने, स्कुल बनाउने कार्य गर्दै आएका मजदुरहरुलाई ठेकेदारले नै पारिश्रामिक दिन्छु भनेर काठमाडडौं ल्याएर छोडेर भागको अरोप लगाएका छन् । शाही संगै कार्य गरेका अर्का श्रमिक भिम बहादुर खत्रीले भने, ‘दशैं खर्च जुटाउन भनेर जाजरकोट देखि काभ्रेमा काम गर्न आइयो । दशै आइसक्यो । घर जानेबेलामा पैसा नै नदिइ ठेकेदान वेपत्ता भए । आफसंग पैसा छैन अब घर कसरी जानु ।’
उनिहरुलाई काभ्रेबाट काठमाडौंको एक होटलमा छोडेर ठेकेदार वेपत्ता भएको पीडितहरुले बताएका छन् । पीडितहरुले ठेकेदान पारिश्रमिक नदिइ सम्पर्क विहिन भएपछि बनेपा प्रहरीलाई ठेकेदार विरुद्ध उजुरी समेत दिइ सकेका छन् । घर फर्कन नै लागि प्रतिव्यक्ति २५ सय गाडी भाडा लाग्ने भएपनि पैसा नभएपछि उनिहरु काठमाण्डौंको गोंगबु बसपार्कमै अलपत्र परेका छन् ।
काभ्रेका एसपी शकुल बहादुर थापाले पीडितहरुको उजुरीको आधारमा ठेकेदारको खोजी कार्य भईरहेको रहेको बताए ।
काभ्रेमा २६ जना मजदुरलाई काम लगाउने ठेकेदार निर्माण व्यवसायी संघमा आवद्ध नरहेको प्रहरीले जनाएको छ । कामदारहरु जाजकोटबाट व्यक्तिको सम्पर्कमा काभ्रेमा पुगेर काम गरेका थिए ।