
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती सेवा विधेयक छिट्टै संसद्मा दर्ता हुने बताएका छन् । निजामती सेवा दिवसको अवसरमा शुक्रबार शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले संघीय शासन प्रणाली कार्यान्वयनको अत्यन्त महत्त्वपूर्ण औजारका रूपमा रहेकाले विधेयक चाँडै संसद्मा दर्ता हुने बताएका हुन् ।
‘संघीय निजामती सेवा ऐन यथाशक्य जारो होस् भन्ने सबैको भावना छ। यसै भावना र मर्मलाई आत्मसात गर्दै सरकारले संघीय निजामती सेवा विधेयक मन्त्रिपरिषदबाट स्वीकृत गरी केही दिनभित्र संसद्मा दर्ता गर्ने तयारी गरिरहेको छ ,’ प्रधानमन्त्री प्रचण्डको शुभकामना सन्देशमा भनिएको छ।
निजामती कर्मचारीहरू जनतालाई सुशासनको प्रत्याभूति दिलाउने क्रममा क्षमतावान रहेको भन्दै त्यति नै विश्वसनीयता कायम गर्न सके मात्र राष्ट्रिय समृद्धिको सपना पूरा हुने उनको भनाइ छ ।
स्थायी सरकारको रूपमा रहेको निजामती सेवा राष्ट्रहितको प्रमुख आधार बनेर मात्र सुशासन, सामाजिक न्यायसहितको समुन्नतिले गति लिने उनको विश्वास छ ।