वीरगन्ज, ३ असोज— सोमबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना जारी छ । अहिलेसम्म कुनैपनि स्थानीय तहको नतिजा नआएपनि नेपाली कांग्रेसले सर्वाधिक २२ स्थानमा अग्रता बनाउँदा एमाले पछिपछि देखिएको छ । यस्तै माओवादी केन्द्र तेस्रो स्थानमा रहँदा राजपा चौथो स्थानमा देखिएको छ ।

मतगणना जारी रहँदा एक्लो महानगर वीरगन्जमा राजपाले अग्रता बनाएको छ ।
वडा नम्बर १ र ३२ को २०० मत गन्दाको अवस्थामा राजपाका राजेशमान सिंह ८१ ल्याएर अग्रस्थानमा रहेका छन् ।
नेपाली काँग्रेसका अजय द्विवेदीले ४०,एमालेका बसरुद्धिन अन्सारीले ८ मत ल्याउँदा फोरम नेपालका विजय सरावगीले २५ मत ल्याउँदा माओवादी रहबर अन्सारीले २० मत ल्याएका छन् ।
यस्तै बाराको जितपुर सिमरा उपमहानगरपालिकामा नेकपा एमालेका प्रमुख पदका उम्मेदवार कृष्णचन्द्र पौडेलले १हजार १ मत ल्याएका छन् भने माओवादीका राजनले ७०२ मत पाएका छन्।
नेपाली कांग्रेसका कृष्णब्रत सिंहले ६६७ र राजपा नेपालका अखिलेश सिंहले ५९ मत पाएका छन्।
त्यस्तै बाराकै कलैया उपमहानगरपालिकामा एमालेका उम्मेदवार विनोदप्रसाद साहले ३८, नेपाली कांग्रेसका राजेश राय यादवले ३६, संघीय समाजवादी फोरमका प्रमोद प्रसाद गुप्ताले ३४ र नेकपा माओवादी केन्द्रका मुकेश साहले १६ मत पाएका छन्।
यता धनुषाको जनकपुर उपमहानगरपालिकामा राजपा नेपालले अग्रता लिएको छ। राजपा नेपालका उम्मेदवार लालकुमार साहले १४५ मत , नेपाली कांग्रेसका उम्मेदवार मनोजकुमार साह सुडीले ७२ मत ल्याएका छन् ।