
राष्ट्रिय मानव अधिकार आयोगले शिष्ट र मर्यादित भएर सामाजिक सञ्जालको प्रयोग गर्न आग्रह गरेको छ ।
आयोगले विगत केही दिनयता देशका विभिन्न स्थानमा घटेका आपराधिक घटना, कतिपय जिम्मेवार पदाधिकारीबाट नै व्यक्त धारणा र आरोप प्रत्यारोपप्रति गम्भीर ध्यानाकर्षण गराउँदै यस्तो आग्रह गरेको हो ।
नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौंमा साङ्घातिक आक्रमण भएको, जसपाका जिल्ला अध्यक्ष राजकुमार यादवमाथि प्रहरीबाट मोरङमा दुर्व्यवहार भएको, चिकित्सकमाथि कुटपिट भएको भन्दै हेटौँडा अस्पतालका ७८ जना चिकित्सकले राजीनामा दिएकोजस्ता घटनाका सम्बन्धमा आयोगको ध्यानाकर्षण भएको जनाएको छ ।
आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको विज्ञप्तिमा यस्ता घटनामा संलग्न आरोपितलाई कानूनबमोजिम कारवाही गर्न तथा शान्ति सुरक्षाको प्रत्याभूति गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।
विज्ञप्तिमा भनिएको छ, “कसैले पनि नेपालको संविधान, कानून र अन्तर्राष्ट्रिय मानव अधिकार कानूनविपरीत हिंसात्मक गतिविधि नगर्न, घृणाजन्य अभिव्यक्ति नदिन तथा सामाजिक सञ्जालको प्रयोग गर्दा शिष्ट र मर्यादित भएर एकअर्काप्रति मानव अधिकारमैत्री भाषा र व्यवहार प्रयोग गर्न आयोग सम्बद्ध सबैलाई विशेष आग्रह गर्दछ ।”
आयोगले आफ्नो अधिकारको प्रयोग गर्दा अरूको अधिकारमा पर्नसक्ने असरप्रति जिम्मेवार व्यक्तिले सधैं ध्यान पुर्याउन आग्रह गरेको छ ।