
ब्राजिलियन फूटबल स्टार नेयमारले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा करिब ६ वर्ष बिताए । च्याम्पियन्स लिग जिताउन नसकेको भन्दै उनीमाथि फ्यानले नराम्रो व्यवहारसमेत गरेका थिए ।
यसपछि नेयमार ३१ वर्षको उमेरमै युरोप छोडेर साउदी अरेबिया आए । त्यहाँको क्लब अल हिलालमा आबद्ध भए । यो धेरैका लागि अप्रत्यासित थियो ।
यसैबीच ब्राजिलियन स्टार नेयमारले साउदी प्रो लिगको अल हिलालका लागि सुखद डेब्यू गरेका छन् । अल हिलालले अल रियादमाथि ६–१ को जित दर्ता गर्दै शीर्ष स्थानमा उक्लिएको खेलमा उनले गएराति डेब्यू गरेका हुन् ।
उक्त खेलमा बेन्चबाट दोस्रो हाफमा मैदान पस्दै नेयमारले डेब्यू गरेका थिए । उनले खेलको ६४ औं मिनेटमा मिडफिल्डर माइकलको स्थान लिएका थिए । नेयमार मैदान पस्दा नै २–० को अग्रता लिएको थियो अल हिलालले । त्यसपछि ४ गोल थपेको थियो ।
पेनाल्टी पाएपछि नेयमारलाई खेलको ८७ औं मिनेटमा गोलको खाता खोल्ने अवसर पनि थियो । तर अल हिलालले पाएको पेनाल्टी नेयमारले सालेम अल दसारीलाई प्रहार गर्न दिए । मैदानमा उपस्थित क्लबका समर्थकले भने नेयमारले पेनाल्टी हान्नुपर्ने आवाज उठाइरहेका थिए । तर उनले नहान्दा निराशा व्यक्त गरेका थिए ।
यद्यपि, उनीहरूले खेलको अन्तिमसम्म पनि नेयमारप्रति सम्मान जनाइरहे । ‘नेयमार ब्राजिलको शीर्ष गोलकर्ता हुन्’ भन्दै उनीहरूले नेयमारकाे ठूलो तस्वीरसहितको ब्यानर बोकेका थिए ।
नेयमारले यसै हप्ता बोलिभियाविरुद्ध २ गोल गर्दै महान खेलाडी पेलेलाई उछिनेका थिए । ब्राजिलका लागि नेयमारले ७९ गोल गर्दा पेलेको नाममा ७७ गोल छ ।
अल हिलालको जितमा दसारीले २ तथा एलेक्जेन्डर मित्रोभिच, यासेर अल शाहरानी, नासेर अल दसारी र माल्कमले १–१ गोल गरेका थिए ।