
काठमाडौं उपत्यका 'मेयर्स फोरम'को बैठक आज (आइतबार) टोखा नगरपालिकामा बस्दैछ । काठमाडौं उपत्यकाका पालिका प्रमुख र उपप्रमुखहरूको बैठक टोखा नगरपालिकामा बस्ने ललितपुर महानगर प्रमुख तथा काठमाडौं उपत्यका मेयर्स फोरमका अध्यक्ष चिरीबाबु महर्जनले जानकारी दिए ।
काठमाडौं उपत्यकामा मेयर्स फोरमा १८ वटा नगरपालिका छन् । तीमध्ये काठमाडौं र ललितपुर दुईवटा महानगर हुन् ।
बैठकमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्मार्ट सडक बत्ती जडानसँग सम्बन्धित विषयमा प्रस्तुतीकरण गर्नेछन् ।
त्यसैगरी वातावरणविज्ञ भुषण तुलाधारले काठमाडौंमा स्वच्छ हावासँगसम्बन्धी विषयमा प्रस्तुतीकरण गर्ने फोरमका अध्यक्ष महर्जनले बताए । उनले भने, ‘आजको बैठक थप महत्वपूर्ण छ, उपत्यकालाई उज्यालो, सुरक्षित बनाउन स्मार्ट सडक बत्ती र वातावरण संरक्षणका बारेमा छलफल हुनेछ । ’
ललितपुर महानगरले हाईमास्ट स्माट सडक बत्ती पनि जडान गरिसकेको छ । महानगरले १२ वटा चोकमा बत्ती जडान गरेको छ । महर्जनले पालिकाहरूले गरेका असल अभ्यासका बारेमा समेत बैठकमा छलफल हुने बताए ।
फोरमको उपाध्यक्षमा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, महासचिवमा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरि, सचिवमा टोखाका प्रकाश अधिकारी, कोषाध्यक्षमा तारकेश्वका कृष्णहरि महर्जन, सहसचिवमा मध्यपुरठिमीका सुरेन्द्र श्रेष्ठ छन् ।
फोरम सदस्यमा उपत्यकाका बाँकी सबै नगरका प्रमुख र उपप्रमुख रहेका छन् ।