
देशका विभिन्न स्थानमा ६ जना मृतावस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार पर्साको जगरनाथपुर गाउँपालिका-५ मसियानी बस्ने ४५ वर्षीया कान्ती देबी मुखिया बिन आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छिन् ।
कपिलवस्तुको यसोधरा गाउँपालिका-१ ठुलो पकडी बस्ने २२ वर्षीया नसिमा खातुन पनि आफ्नै घरको बरन्डामा रहेको खाटमा मृत अवस्थामा फेला परेकी छिन् । प्रहरी चौकी तुल्सिपुरबलुहवा र ईलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले मृतकका श्रीमान् सहित ५ जनालाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।
यसैगरी सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-२ थापागाउँ बस्ने ९७ वर्षीया भक्त कुमारी थापा सोही गाउँपालिका-२ कोईराला टारस्थित खोल्सामा मृत अवस्थामा फेला परेकी छिन् । गत भदौ २८ गते दिउँसो आफ्नै घरबाट हराई बेपत्ता भएकी उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।
बाँकेको जानकी गाउँपालिका-४ ढुढुवारस्थित बाटो छेउको नालीमा खजुरा गाउँपालिका-७ गुनाना बस्ने २० वर्षीया माया कुमारी कुम्हार पनि बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
धादिङको निलकण्ठ नगरपालिका-१० बस्ने ६१ वर्षीय यम बहादुर खनाल सोही नगरपालिका-११ ज्यामरुङ कालीमाटी खोलामा बुधबार मृत अवस्थामा फेला परेका छन् । मंगलबार दिउँसो घरबाट हिँडेका उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा शव फेला परेको हो ।
यसैगरी सुनसरीको कोशी गाउँपालिका-१ लौकही बजार सभाहलमा अन्दाजी ४५ वर्षीय पुरूष मृत अवस्थामा फेला परेका छन् । सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको समाचार कक्षले जनाएको छ ।