०६ असार २०८३, शनिबार

प्रहरीको खुलासा : राम रहीमको डेरामा गाडिएका छन् ६०० नरकंकाल

कात्तिक २०, २०७४
प्रहरीको खुलासा : राम रहीमको डेरामा गाडिएका छन् ६०० नरकंकाल

काठमाडौं, ४ असोज — बलात्कारको दोषी ठहरिएर कारावास सजाय भोगिरहेका डेरा सच्चा सौदा प्रमुख राम रहीमको सिरसास्थित मुख्यालयको जमीनमुनि लगभग ६०० मानिसको कंकाल गाडिएको छ ।


प्रहरीले गरेको अनुसन्धानबाट यो पत्ता लागेको हो । विशेष अनुसन्धान टोलीले डेरा अध्यक्ष विपश्यना इंसा र उपाध्यक्ष पीआर नैनसँग सोधपुछ गरिरहेको छ ।

सोधपुछमा नैनले डेरा मुख्यालय तथा नजिकका खेतहरूमा ६०० मानिसको हाड र कंकाल गाडिएको स्वीकार गरे ।

डेरा अनुयायीहरूलाई मृत्युपछि डेराको जमीनमा गाड्दा मोक्ष प्राप्त हुने बताइएकाले त्यति धेरै कंकाल भएको उनले बताए ।

राम रहीमको विरुद्ध बोल्ने मानिसलाई मारेर डेराको जमीनमा गाडिने गरिएको खबर यसअघि आएको थियो ।

डेरामा बस्ने गरेका अनुयायीहरूले नै यस्तो आरोप लगाएका थिए । विरोधीलाई मारेर खेतहरूमा गाडिने गरेको उनीहरूको भनाइ थियो ।

गोप्यता खुल्ने डरले ती खेतमा खेती गर्न र रुख काट्न समेत प्रतिबन्ध लगाइएको उनीहरू बताउँछन् ।

सोमवार प्रहरीले विपश्यनासँग तीन घन्टासम्म गहन सोधपुछ गरेको भएपनि उनको जवाफबाट सन्तुष्ट भएको थिएन । त्यसैले उनीसँग फेरि सोधपुछ हुने भएको छ ।

खासमा विपश्यना र पीआर नैनका कुरामा विरोधाभास भेटिएको थियो । दुवैले पञ्चकुला हिंसामा सोधिएका प्रश्नको फरक फरक जवाफ दिएका थिए ।

एजेन्सी

कमेन्ट गर्नुहोस्