
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' शुक्रवार चीनको हाङजाओ प्रस्थान गरेका छन् ।
न्युयोर्कबाट प्रचण्ड चीनको हाङजाओ प्रस्थान गरेका हुन् । स्थानीय समय अनुसार राति १ बजे प्रचण्ड हङकङ प्रस्थान गरेका परराष्ट्र स्रोतले जानकारी दियो ।
हाङजाओ जान प्रचण्डले हङकङलाई ट्रान्जिट बनाएका हुन् । एसियाली खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा सहभागी हुन प्रचण्ड हाङजाओ जान लागेका हुन् ।
असोज ६ गते शनिवारदेखि १३ गतेसम्म प्रचण्डले चीनको भ्रमण गर्दैछन् । उनले बेइजिङको पनि भ्रमण गर्ने कार्यक्रम छ ।
भ्रमणका क्रममा हाङजाओमै चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ताको कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
राष्ट्रसंघको महासभामा सहभागी हुन प्रचण्ड गत भदौ ३० गते न्ययोर्क गएका थिए । महासभालाई प्रचण्डले बिहीवार राति सम्वोधन गरेका छन् । झन्डै एक साता अमेरिकामा बसेका प्रचण्डले राष्ट्रसंघका विभिन्न फोरममा सम्बोधनका साथै विभिन्न देशका सरकार प्रमुखहरूसँग भेट गरेका थिए ।
चीन भ्रमण सकेर प्रचण्ड असोज १३ गते शनिवार स्वदेश फर्किने कार्यक्रम छ ।