
अभिनेत्री उषा रजकले निर्देशक एवं अभिनेता अनुप बरालमाथि आरोप लगाएकी छन् । शुक्रवार सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै उनले बरालको ‘एक्टर्स स्टुडियो’लाई दूषित ठाउँका रुपमा उल्लेख गरेकी छन् ।
अनुप बरालले १७ वर्ष अगाडि चलचित्र ‘कागवेनी’मा आफूलाई हटाएर दीया मास्के (श्रीमती)लाई छनोट गरेको उषाको आरोप छ ।
एक्टर्स स्टुडियोको पहिलो ब्याचकी विद्यार्थी उषाले लेखेकी छन् ‘त्यो बेला अलि दिनमा आँट बटुलेर अनुप सरलाई के भाको सर यस्तो भन्दा कता–कता कुरा मोडेर डिनर जाने कुरा प्रस्ताव गर्नु भएको याद छ । १९ वर्षकी शायद मैले बुझिन, अथवा बुझ पचाएँ, र खुरुक्क गएर चुपचाप क्लासमा बसें । १७ वर्षसम्म यो कुरामा पब्लिकमा बोलिँन, हो म अलिकति त कातर नै हो ।’
उषाले अहिले पनि धेरै कलाकार अभिनयको सपना बोकेर एक्टर्स स्टुडियोमा जाने तर निराश भएर फर्किने उल्लेख गरेकी छन् ।
‘१७ वर्षअघि अनुप बराल सरले जसरी त्यो संस्थाबाट हुने राम्रो रोल र स्क्रिप्ट आएमा सबै मुख्य पात्रमा दीया मास्केलाई मात्र अनुबन्धित गराउनु हुन्थ्यो’ उनले लेखेकी छन् ‘अहिले पनि त्यही कुरीति कायम नै छ । गुरुबाट यो अपेक्षा गरिँदैन, कमसेकम मैले जानेको गुरुको परिभाषा यस्तो छैन ।’
उनले आफ्नो अनुप बरालसँग कुनै रिस नभएको बताउँदै दीया मास्केलाई पनि राम्रो कलाकारको रुपमा चित्रित गरेकी छन् ।