
सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ‘दोस्रो सूर्यज्योति सेल्स कन्भेन्सन’ सम्पन्न भएको छ ।
देशभरका प्रदेश प्रमुख, क्षेत्रीय प्रमुख, शाखा प्रबन्धक र सेल्स एक्सिक्युटिभहरू सहित करिब २०० भन्दा बढीको उपस्थितिमा चितवनको सौराहास्थित होटल सेभेन स्टारमा कन्भेन्सन सम्पन्न गरिएको कम्पनीले जनाएको छ ।
कार्यक्रममा कम्पनीका सञ्चालक समिति अध्यक्ष केशवप्रसाद भट्टराई, सदस्यहरू नन्दकिसोर शर्मा, हेमन्त नहाटा, विवेक झा, प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्री, वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्कालगायत उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा व्यवसाय, अभिकर्ता नियुक्ति र बीमालेखको आधारमा उत्कृष्टता हासिल गर्न सफल देशभरिका उत्कृष्ट १० जना ब्रान्च म्यानेजर र १० जना सेल्स एक्जिक्युटिभहरूलाई सम्मान गरिएको थियो ।
उक्त कार्यक्रममा प्रत्येक विधामा सर्वोत्कृष्ट ३ जनालाई ट्रफी तथा सम्मानपत्र हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीको हालको अवस्था तथा आगामी बजार विस्तार योजना र रणनीतिसम्बन्धी योजनाले आफूहरू थप उत्साहित बनेको सहभागीहरूले बताएका थिए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले सूर्य लाइफ र ज्योति लाइफको ऐतिहासिक सफल मर्जरपश्चात कम्पनीले हरेक सूचकहरूमा उल्लेखनीय सफलता हासिल गरेको बताए ।
साथै समय सापेक्ष उत्कृष्ट योजना र नवीनतम् प्रविधिको अवलम्बन गर्दै देशको जीवन बीमा क्षेत्रकै उत्कृष्ट सूर्यज्योति लाइफ बन्नेमा आफू ढुक्क रहेको उनको विश्वास थियो ।
सञ्चालक विवेक झाले कम्पनीसँग बेस्ट प्रोडक्ट, देशभर फैलिएको शाखा सञ्जाल, उत्कृष्ट सेल्स टिम र दक्ष कर्मचारीहरूको साथ रहेकाले आगामी दिनमा जीवन बीमा कम्पनीहरूमा सूर्यज्योति नै अब्बल हुनेमा आफू विश्वस्त रहेको बताएका थिए ।
साथै सञ्चालक नन्दकिशोर शर्माले कम्पनीको वृहत्तर हित र उन्नतिका लागि सञ्चालक समिति सदैव सकारात्मक रहेको बताएका थिए ।
कम्पनीका अध्यक्ष केशवप्रसाद भटराईले उपस्थित सम्पूर्ण सहभागीहरूलाई धन्यवाद दिएका थिए ।
व्यापार विस्तार गर्ने क्रममा कम्पनीले संस्थागत सुशासन तथा जोखिमहरूको सूक्ष्म पहिचान गरी व्यवस्थापन गर्नुपर्ने उनको भनाइ थियो ।
बीमा प्राधिकरणबाट जारी भएका सम्पूर्ण नीति नियमहरू अनिवार्य पालना गर्नुपर्नेमा उनले जोड दिएका थिए ।