
समृद्ध एड मिडिया नेटवर्क प्रालिकोे १३औँ वार्षिकोत्सवका अवसरमा आज शिक्षाविद्, शिक्षाकर्मी र पत्रकारलाई सम्मानित गरिएको छ । कार्यक्रममा वरिष्ठ पत्रकार भैरव रिसालबाट पाँच व्यक्तित्वलाई सम्मान प्रदान भएको थियो ।
सम्मानित हुनेमा शिक्षाविद् प्रा डा विद्यानाथ कोइराला, काठमाडौँको नीलबाराही माविका प्रधानाध्यापक डा जानुका नेपाल, एडकमार्क एकेडेमीका प्राचार्य शिव अधिकारी र गोरखापत्र दैनिकका फोटो पत्रकार कविता थापा छन् ।
शिक्षा पत्रकारितामा संस्थागत योगदान दिने शिक्षा पत्रकार समाज र उक्त मिडियामा उत्कृष्ट काम गर्ने पत्रकार तथा कर्मचारीलाई कदरपत्रबाट सम्मान गरिएको थियो भने ‘एजुकेसन न्यूज’ पाक्षिकको विशेषाङ्कको विमोचन गरिएको थियो ।
कार्यक्रममा वरिष्ठ पत्रकार रिसाल, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का उपाध्यक्ष दीपिका थापा, उच्च शिक्षा तथा विद्यालय सङ्घ (हिसान) का उपाध्यक्ष रामहरि सिलवाललगायतले सो मिडिया प्रालिको स्थापना दिवसका अवसरमा शुभकामना दिएका थिए ।