०१ असार २०८३, सोमबार

सर्ट फिल्म ‘बबल’ले जित्यो एक लाख नगद पुरस्कार

असोज ७, २०८०
काठमाडौं
सर्ट फिल्म ‘बबल’ले जित्यो एक लाख नगद पुरस्कार

सजिल बस्नेतको सर्ट फिल्म ‘बबल’ले एक लाख रूपैयाँ नगद पुरस्कार जितेको छ । अस्कर कलेजले आयोजना गरेको पहिलो युवा सर्ट फिल्म प्रतियोगितामा बस्नेतले प्रथम पुरस्कार स्वरूप सो रकम जितेका हुन् । 

त्यसैगरी प्रतियोगितामा क्षितिज जैसवालको ‘वैराग्य’ले दोस्रो र देव तामाङको ‘खोक्रो’ तेस्रो हुँदै क्रमशः  ५० हजार र २५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् । दुई दशकदेखि फिल्मको प्राज्ञिक अध्यापन गर्दै आएको अस्कर कलेजले आयोजना गरेको ‘पहिलो सर्ट फिल्म प्रतियोगिता’मा १९ वर्षमुनिका उमेर समूहका युवा फिल्मकर्मीबीच प्रतिस्पर्धा गराइएको थियो । गत भदौमा फिल्महरू आह्वान गरिएको प्रतियोगितामा २५ फिल्ममध्येबाट माथिका तीन फिल्म प्रथम, द्वितीय र तृतीय हुन सफल भएका हुन् । 

२५ मध्येबाट सात वटा फिल्म सर्ट लिस्टमा परेका थिए । जसमध्ये निराकारभक्त राईको द पोयटलाई स्पेसल मेन्सन अवार्ड प्रदान गरियो । 

काठमाडौंको सुकेधारास्थित अस्कर कलेजमा शुक्रबार सर्ट लिस्टमा परेका सात फिल्म प्रदर्शन गरी पुरस्कार घोषणा गरिएको हो । सात वटा फिल्म प्रदर्शन गरेपछि निर्देशक तथा अभिनेता निश्चल बस्नेतले ती फिल्मका निर्देशकहरूलाई सर्टिफिकेट प्रदान गरे । 

प्रतिस्पर्धामा समावेश फिल्महरू मनोजबाबु पन्त, फिल्म निर्देशक निरन्जनराज भेटवाल र छायाँकार उज्जवल बस्ताकोटीको जुरीले छनौट गरेको हो । अस्कर कलेजका एकेडेमिक डाइरेक्टरसमेत रहेका जुरीमध्येका एक मनोजबाबु पन्तले भने, ‘विषयवस्तुको छनौट, कथा भन्ने शिल्प, प्राविधिक पक्ष, दृश्य भाषालाई छनौटजस्ता पक्षलाई मुख्य आधार बनाएर हामीले उत्कृष्ट फिल्महरू चयन गरेका हौं ।’
उनले प्रतियोगितामा नयाँ पुस्ताको सपना, आशा र निराशाका विषयका फिल्महरू बढी आएको जानकारी दिए । 

‘अहिलेको नयाँ पुस्ता विश्व सिनेमा र सर्ट फिल्मबारे अपडेटेड छ । प्रतियोगिता जितेका फिल्महरू परम्परागत शैली नपछ्याई कथा र प्रविधि दुवैमा नयाँ प्रयोग गरिएका छन्’, उनले भने । 

प्रतिस्पर्धामा पुरस्कृत चार फिल्मका निर्देशकलाई अस्कर कलेजमा अध्ययन गर्न चाहेमा ५० प्रतिशत स्कलरसिप समेत दिने व्यवस्था गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्