
अब बैंकहरूले एक दिनमा २० किलोग्रामसम्म सुन आयात गर्न पाउने भएका छन् ।
विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र २०७९ मा संशोधन गर्दै एक दिनमा २० किलो सुन आयात गर्न सकिने प्रावधान राखिएको छ ।
‘सुन आयात तथा बिक्री वितरणसम्बन्धी कार्यविधि, २०६८ को दफा ४(क), दफा ८ र दफा २४ लाई देहायबमोजिम संशोधन गरिएको छ दफा ४(क) आयात गर्न सकिने सुनको दैनिक परिमाण हाललाई २० (बीस) किलो कायम गरिएको छ,’ नेपाल राष्ट्र बैंकले जारी गरेको परिपत्रमा उल्लेख छ ।
तर, दैनिक निर्धारित सीमाको परिमाणमा नबढ्ने गरी आयात गर्न सकिने प्रावधान राखिएको हो ।
मूल्यको दृष्टिकोणले मितव्ययी तथा लाभदायी हुने भएमा दैनिक निर्धारित सीमाको परिमाणमा नबढ्ने गरी आवश्यकता अनुरुपको मितव्ययी परिमाणमा एकमुष्टरूपमा समेत सुन आयात गर्न सकिनेछ । तर, यस्तो एकमुष्टरूपमा आयात गर्दा आगामी दिनको लागि अग्रिमरूपमा आयात गर्न र व्यतीत भएको कुनै महिनामा दैनिक आयात नभएको सुन अर्को महिनामा आयात गर्न पाइने छैन ।
’व्यतीत भएको कुनै महिनामा दैनिक आयात नभएको सुन अर्को महिनामा आयात गर्न पाइने छैन भन्नाले कुनै वर्षको एक महिना (उदाहरणको लागि साउन महिना) मा दैनिक तोकिएबमोजिमको परिमाणको सुन आयात नभएमा त्यस्तो सुन तत् (साउन महिना) पश्चातका महिनाहरूमा आयात गर्न पाइने छैन । तर, कुनै एक महिना (उदाहरणको लागि साउन महिना)को कुनै समयसम्म दैनिक तोकिएबमोजिमको परिमाणको सुन आयात नभएमा सोही महिना (साउन) मित्र त्यस्तो सुन आयात गर्न भने बाधा पर्ने छैन,’ परिपत्रमा उल्लेख छ ।
बैंकबाट सुन खरिद गर्ने व्यवसायीले आफूले बिक्री उपयोग गरेको सुनको संलग्न अनुसूची २ बमोजिमको ढाचामा प्रत्येक महिना समाप्त भएको ७ दिनभित्र सम्बन्धित बैंकमा मासिक विवरण बुझाउनु पर्नेछ । यस्तो विवरण विद्युतीय माध्यमबाट समेत बुझाउन सकिनेछ ।