
घरेलु भूमिमा नेपाल भारतसँग पेनाल्टी सुटआउटमा स्तब्ध बनेको छ ।
बुधवार साँझ काठमाडौंको दशरथ रंगशालामा भएको खेलमा नेपाल भारतसँग पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित हुँदै स्तब्ध बनेको हो ।
यससँगै नेपाल सेमिफाइनलबाटै बाहिरिएको छ । भारत भने फाइनलमा प्रवेश गरेको छ । उपाधि भिडन्तका लागि अब उसको भेट पाकिस्तानसँग हुनेछ । फाइनल खेल शनिवार हुनेछ ।
खेलको २६ औं मिनेटमै शाहिल खुर्शिदले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए ।
यससँगै पहिलो हाफमा भारतले एक शून्य गोलको अग्रता लिएको थियो । तर दोस्रो हाफको ७३ औं मिनेटमा नेपालले गोल फर्काएको हो ।
नेपालका लागि ७३ औं मिनेटमा समीर तामाङले आकर्षण हेड गोल गरेर खेल बराबरीमा ल्याएका थिए । बाँकी समय दुवैतर्फबाट कुनै गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा गयाे ।
सुटआउटमा नेपालका अश्विन घोरासैनी र कुशल देउवाले गोल गरेका थिए । तर प्रशान्त लक्सम, लक्षु थापा र विक्रम तामाङले प्रहार गोलमा परिणत हुन सकेन ।
भारतका लागि अर्जुन सिंह, गोगोम्सर गोयरी र मागिलेतम किपगेमले गोल गरे । तर, दिनेश सिंह र रिक्की मितेयीको चुकेका थिए ।