०९ असार २०८३, मंगलबार

प्रकाशको गृहजिल्लामा ‘परदेशी २’ को प्रिमियर, दर्शकले भने – चलचित्रले समाजलाई झल्काएको छ

असोज १३, २०८०
काठमाडौं
प्रकाशको गृहजिल्लामा ‘परदेशी २’ को प्रिमियर, दर्शकले भने – चलचित्रले समाजलाई झल्काएको छ

यही असोज २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको मल्टिस्टारर चलचित्र ‘परदेशी २’को बागलुङमा प्रिमियर शो गरिएको छ ।

चलचित्रको मुख्य भूमिकामा रहेका प्रकाश सपूतको गृहजिल्लामा शुक्रवार बेलुका गरिएको प्रिमियरमा अधिकांशले चलचित्रले हाम्रो समाजलाई झल्काएको भन्दै खुलेर प्रसंशा गरेका छन् । ​​

प्रिमियरमा चलचित्र हेरेका बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले परदेशको सपना देख्ने आम नेपालीहरूको कथाले आफ्नो मन छोएको बताए । 

‘हाम्रो हावापानी, संस्कार, संस्कृति, भूगोल, देशसँग सुहाउँदो किसिमको चलचित्र बनेको छ’ उनले भने, ‘जति सुन्दर देशमा गए पनि मन आफ्नै देशमा हुन्छ भन्ने कुरा चलचित्रले देखाउन खोजेको छ ।’ 

चलचित्र हेरेर निस्किँदै गर्दा अधिकांश आमाहरूका आँखा रसाएको देखिन्थे । उनीहरूले चलचित्रले आफ्नै कथा देखाएको जस्तो लागेको बताएका थिए । 

चलचित्र हेरिरहँदा परदेशमा रहेका छोरा/छोरीलाई सम्झिएर आफूहरूको आँखाबाट आँसु खसेको महिलाहरूले बताएका थिए । राम्रो सन्देशसमेत दिने बताउँदै आम नेपालीहरूले हेर्नुपर्ने मौलिक चलचित्र बनेको दर्शकको प्रतिक्रिया थियो । ​

बीएसआर मुभिजमा गरिएको प्रिमियरमा दर्शकबाट पाएको प्रतिक्रियाले निर्माण टिम उत्साहित देखिएको छ । 

अभिनेता प्रकाश सपूतले आफ्नै जन्म ठाउँमा जिल्लावासीसँग बसेर चलचित्र हेरिरहँदा फरक अनुभूति भएको बताए । 

उनले चलचित्रमा आफ्नो इन्ट्री हुँदै गर्दा दर्शकबाट आएको चिच्याहटले पुराना दिन सम्झाएको बताए । 

‘चलचित्रमा जब मेरो इन्ट्री हुन्छ । सबै जना चिच्याउनुभएको थियो । मलाई जिस्क्याएर हो वा माया गरेर हो । वा हाम्रो गाउँको हिरो भयो भनेर हो’ उनले भने, ‘पहिले–पहिले चलचित्र हेर्न आउँदा पनि हामी हिरोहरूको इन्ट्रीमा त्यसैगरी हुटिङ गर्थ्यौं । यहाँ त्यसरी नै दर्शकबाट आवाज आउँदा भावुक पनि भएँ । खुशी पनि लाग्यो ।’ ​

सबै जनाको सकारात्मक प्रतिक्रियाले आफू उत्साहित रहेको प्रकाशले बताए । 

अभिनेत्री केकी अधिकारीले राजधानी बाहिरको प्रियिमरमा सहभागी हुन पाउँदा फरक अनुभूति गरेको बताइन् । 

उनले प्रदर्शनको दुई साताअघि प्रिमियर हुँदै गर्दा ‘नर्भस’ महसुस भए पनि चलचित्र हेरिसकेपछि सबैको सकारात्मक प्रतिक्रियाले खुशी लागेको बताइन् । 

‘दर्शकहरू चलचित्रको कथामा एकदमै कनेक्ट हुनुभयो । छोराछोरीको पीडामा आफ्ना विदेश गएका छोराछोरीलाई देख्नुभयो । बुवाआमाको पीडामा कतिले आफूलाई कनेक्ट गर्नुभयो । कतिले आफ्ना बुवाआमालाई सम्झिनुभयो’ उनले भनिन् ‘चलचित्रले राम्रो खालको व्यापार गर्ने विश्वास लिएकी छु । मन जित्छ भन्ने लागेको छ ।’ 

निर्देशक नारायण रायमाझीले चलचित्र दर्शकलाई मन छुने बनेको रहेछ भन्ने प्रिमियरपछि महसुस गरिरहेको बताए । 

‘आफ्नो चलचित्रलाई आफैले मूल्यांकन गर्न सकिँदैन । तर दर्शकको बीचमा बसेर चलचित्र हेरिरहँदा इन्जोइ पनि उत्तिकै गर्नुभएको थियो ।

भावनामा पनि उत्तिकै डुब्नुभएको थियो’ उनले भने, ‘सबैलाई मन छुने चलचित्र बनेको रहेछ भन्ने महसुस भयो । एकदमै खुशी छु ।’ 

null

प्रिमियरअघि जिल्लावासीले बाजागाजासहित चलचित्रको टिमलाई विशेष स्वागत गरेका थिए ।

युवापुस्तामा बढ्दो विदेश मोहको कथामा निर्माण भएको चलचित्रमा प्रकाश र केकीका साथमा वर्षा शिवाकोटी, प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, रमा थपलिया, देवेन्द्र बब्लु, सविन बास्तोला लगायतको अभिनय छ । ​

रमेश बिजीको कथा एवं पटकथा लेखन रहेको चलचित्र प्रकाशको डेब्यु चलचित्र हो । 

राजेश बंशल र निर्देशक नारायण रायमाझीले संयुक्त रुपमा चलचित्रको निर्माण गरेका हुन् । 

निर्देशक रायमाझीले यसअघि निर्देशन गरेका ‘गोर्खा पल्टन’ र ‘परदेशी’ दुवै चलचित्र बक्स अफिसमा हिट भएका थिए । ​

मानकृष्ण महर्जनको छायांकन रहेको ‘परदेशी २’मा अष्ट महर्जनको द्वन्द्व, रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी, दीर्घ खड्काको सम्पादन छ । 

पहिलो चरणको देश दौडाहाको अन्तिम दिन गरिएको प्रिमियरपश्चात चलचित्रको टिम काठमाडौं फर्किएको छ ।

salt training

कमेन्ट गर्नुहोस्