
काठमाडौं, ५ असोज — दक्षिण चीनको शेनझेनमा सन् २०१७ को अन्त्यसम्ममा दुईवटा स्वचालित बसको रूट खोलिने शेनझेन बस समूहले घोषणा गरेको छ । शेनझेनमा हाईटेक कम्पनीहरू प्रशस्त छन् ।

यी रूटहरूमा चारवटा स्मार्ट बस सञ्चालन गरिनेछन् । पहिलो रूट तीन किलोमिटरको हुनेछ त्यसमा दशवटा स्टप हुनेछन् । यो सथर्न युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीको क्याम्पस भएर जानेछ ।
दोस्रो रूट नै अझै सुनिश्चित गर्न बाँकी छ ।
समूहका अध्यक्ष यु गाङले प्राविधिकहरू नेभिगेसन र सुरक्षा नियन्त्रण प्रणालीसँग क्रमशः परिचित हुँदै गएको तर शुरुवाती चरणमा सञ्चालनको निरीक्षण गर्नका लागि चालकहरू बसमा रहने बताए ।
स्मार्ट स्वचालित प्रविधिलाई शेनझेन बस समूह, नेसनल इन्टेलिजेन्ट ट्रान्सपोर्ट सिस्टम एन्ड टेक्नोलोजी र हुआवेले संयुक्त रूपमा विकास गरेका हुन् । यी विद्युतीय बसहरूले प्रदूषण घटाउन तथा ट्राफिक जाम कम गर्न मद्दत गर्ने अपेक्षा छ ।
सिन्ह्वाबाट