०१ असार २०८३, सोमबार

पर्वतका सामुदायिक विद्यालय विद्यार्थीविहीन, एक विद्यार्थीका लागि तीन शिक्षक

असोज १५, २०८०
काठमाडौं
पर्वतका सामुदायिक विद्यालय विद्यार्थीविहीन, एक विद्यार्थीका लागि तीन शिक्षक

पर्वत– जिल्लाका सामुदायिक विद्यालय विद्यार्थीविहीन बन्दै गएका छन् । अवसरको खोजीमा गाउँबाट बसाई सर्नेक्रम बढेपछि विद्यालय खाली हुँदै गएका हुन् । 

यस्तै समस्या रहेको छ, कुश्मा नगरपालिका–१२ ठूलीपोखरीको अर्जिकोटस्थित सहिद शुक्र आधारभूत विद्यालयमा । कक्षा ५ सम्म पढाइ हुने उक्त विद्यालयको तीन वटा भवनमा  आठवटा कक्षाकोठा छन् । तीन शिक्षकको दरबन्दी रहेको सो विद्यालयमा एक सहायक कर्मचारीसमेत रहेका छन् तर मा विद्यार्थी भने एकजना मात्र छन् । 

कक्षा १ मा पढ्ने एक छात्राबाहेक विद्यार्थी नै छैनन् । तीन जना शिक्षकले दिनभर ती एउटी छात्रालाई रुघेर बस्नुपरेको छ । शिशुकक्षा, कक्षा २, ३, ४, ५ पूरै खाली रहेको विद्यालयका प्रधानाध्यापक शिवप्रसाद तिवारीले बताए । 

कुनै समय २५-३० जनासम्म एउटै कक्षामा विद्यार्थी भएकामा अहिले विद्यार्थी सङ्ख्या न्यून रहेको उहाँको भनाइ थियो । एक÷दुई जना विद्यार्थी भए पनि आफूहरू नियमित विद्यालय आउने, हाजिर गर्ने र पढाउने काम गरिरहेको प्रधानाध्यापक तिवारीले बताए । आफूहरू गुणस्तरीय शिक्षा दिन सक्षम भए पनि विद्यार्थी नै नआएपछि के गर्ने भन्ने अन्योल रहेको उनको भनाइ थियो ।  

विसं २०२६ मा स्थापना भएको यो विद्यालयमा विगत पाँच वर्षयता विद्यार्थीको खडेरी लागेको हो । कक्षा पाँचसम्म यो विद्यालयमा अध्ययन गर्ने र कक्षा ६ देखि सोही वडामा रहेको जनता सुदर्शन मावि वा त्रिभुवन आधारभूत विद्यालयमा जाने गरेको भए पनि विद्यार्थी नै नहुँदा विद्यालय नै सङ्कटमा पर्दै आएको कार्यालय सहयोगी नारायण गौतमले बताए । 

विद्यार्थीको सङ्ख्या न्यून हुँदै गएको छ, कतै विद्यालय नै खारेज हुने पो हो कि भन्ने सम्भावना बढ्दै गएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धिबहादुर केसीले बताए । उनले भने, ‘स्कूलका भवन देखेर टिठ लाग्न थालेको छ । गाउँमा वृद्धवृद्धाबाहेक कोही पनि नहुँदा यस्तो समस्या आएको हो ।’

‘गाउँमा रहेका अधिकांश घर खाली भइसकेका छन् । मान्छे भएका घरमा पनि वृद्धवृद्धाबाहेक कोही छैनन्,’ अध्यक्ष केसीले भने, ‘सदरमुकाम कुश्माबजारबाट एक घण्टा पैदल यात्रा र सवारीसाधनमा १५ मिनेटमै पुगिने यस विद्यालयको अवस्था दयनीय बन्दै गएको छ ।’

विद्यार्थी अभावमा शिक्षकले कार्यालयको कोठा र अर्को एक कक्षाकोठा मात्र खोलेर सञ्चालन गर्दै आएका छन् । बाँकी ६ वटा कक्षाकोठाका कुर्सी, र बेञ्च मर्मतको अभावमा जीर्ण बन्दै गएका छन् । कक्षाकोठामै झार उम्रिन थालेको स्थानीयवासी रुद्र केसीले बताए । 

कुश्मा नगरपालिका–१२ का अध्यक्ष झलकप्रसाद रिमालले यो विद्यालय मात्र नभई वडामा रहेका अन्य आधा दर्जन विद्यालयमा पनि विद्यार्थीको सङ्ख्या न्यून रहेको बताए । गाउँबाट बढ्दो बसाइँसराइका कारण विद्यालय खाली हुँदै गएको उनको भनाइ थियो । विद्यार्थी नभएपछि साना बालबालिकाका लागि ईसीडी कक्षा मात्र राखेर अन्य कक्षाकोठा मर्ज गर्नुपर्ने भएकाले यस विषयमा आफूले पहल गर्ने वडाध्यक्ष रिमालको भनाइ थियो । –रासस–

salt training

कमेन्ट गर्नुहोस्