
मंगलवार राति भएको अविरल वर्षाले देशका ठाउँ–ठाउँमा पहिरो गएको छ । पहिरो जाँदा विभिन्न स्थानका सडक अवरुद्ध भएका छन् ।
राजधानी उपत्यका छिर्ने देशकै प्रमुख नाकाको रुपमा रहेको नारायणगढ–मुग्लिन सडकसमेत पहिरोले अवरुद्ध भएको छ । उक्त सडकखण्डको नाम्सी पुलनजिकै मंगलवार राति पहिलो गएर सडक अबरुद्ध भएको हो ।
बुधवार बिहान सडक एकतर्फी मात्र सञ्चालन भइरहेकाले पहिरो पन्छाउने कार्य सुचारू भइसकेको सडक डिभिजन कार्यालय, भक्तपुरले जनाएको छ ।
यसअघि साढे ७ बजे सडक दुईतर्फी खुल्ने भनिएको थियो । तर निरन्तर वर्षा र पहिलो खस्ने काम नरोकिएकाले सडक दुईतर्फी सञ्चालनमा आउन समय लाग्ने कार्यालयका सूचना अधिकारी इन्जिनियर चन्देश्वर साहले लोकान्तरलाई जानकारी दिए ।
‘सडक खुलाउन सोचेजस्तो सजिलो हुँदैन । निरन्तर पानी परेकाले लेदो थपिइरहेको छ । यसैले सडक दुईतर्फी खुल्न अझै एक–दुई घण्टा लाग्छ होला,’ उनले भने ।
यस्तै, दुई दिनदेखि परेको अविरल वर्षासँगै आएको लेदोसहितको पहिरोले सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाऊ गाउँपालिका ५ कालीमाटीमा यात्रुबाहक जीप पुरिएको छ ।
जिल्ला प्रहरी कार्यालय, पाल्पाका डीएसपी सुगन्ध श्रेष्ठका अनुसार घटनास्थलमा प्रहरी जाँदै छ । लु३च ५३४२ नम्बरको जीप पहिरोमा परेको हो ।
‘अहिले सिद्धार्थ राजमार्ग अवरुद्ध छ । पुरिएका जीपबाट मानिसहरू निस्किएका छन् । विस्तृत विवरण आउन बाँकी छ,’ डीएसपी श्रेष्ठले भने ।
अहिले पनि यस क्षेत्रमा भारी वर्षा भइरहेको छ ।
यसैगरी अविरल वर्षासँगै खसेको पहिरोको कारण कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुर खण्डमा पहिरोको कारण कालीगण्डकी करिडोर पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए ।
बुलिङटार गाउँपालिका–१ रातबीसेमा खसेको पहिरोको कारण गएरातिदेखि कालीगण्डकी करिडोर पूर्णरूपमा अवरुद्ध भएको हो । पानी परिरहेकाले तत्काल पहिरो पन्छाएर सवारीसाधन सञ्चालन गर्न कठिन रहेको उनको भनाइ छ ।
कालीगण्डकी करिडोर पहिरोकै कारण अवरुद्ध भएसँगै यस खण्ड भएर चल्ने सवारीसाधन सञ्चालन हुनसकेका छैनन् । यस खण्डहुँदै गैँडाकोटबाट नवलपुरको बुलिङटार, बौदीकाली, पाल्पाको रामपुर, तनहुँ, पोखरा, स्याङ्जालगायत स्थानका लागि सवारीसाधन सञ्चालन हुने गर्दछन् । निरन्तरको झरीले जिल्लाको पहाडी क्षेत्रका ग्रामीण सडकमा समेत विभिन्न स्थानमा क्षति पुर्याएकाले सवारी आवागमन कठिन बनेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए ।
साथै म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा–बेनी सडक पनि अवरुद्ध बनेको छ । केही दिनदेखि निरन्तरको वर्षासँगै पर्वतको जलजला गाउँपालिका–७ केराबारीमा पहिरोले सडक अवरुद्ध बनेको हो ।
पहिरो झर्ने क्रम रोकिएको छैन । वर्षा नरोकिएकाले पहिरो पन्छाउने कामसमेत हुन नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सुमन निउरेले जानकारी दिए ।
यस क्षेत्रमा अहिले पनि ठूलो वर्षा भइरहेको छ । पहिरो खस्नसमेत रोकिएको छैन । वर्षा रोकिएलगत्तै सडक खुलाउनका लागि डोजर र सुरक्षाकर्मी परिचालन गरिने उनले बताए । सडक अवरुद्ध हुँदा मुस्ताङ र म्याग्दीबाट छुटेका सवारीसाधन मिलनचोकमा थन्किएका छन् भने अन्यत्रबाट आएका सवारीसाधन लस्तीबजारमा रोकिएका छन् । केही साना सवारीसाधन भने बागलुङतर्फबाट वैकिल्पक मार्गको प्रयोग गरी गन्तव्यतर्फ गइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, तीन दिनदेखिको अविरल वर्षासँगै ठाउँ–ठाउँमा पहिरो खस्दा पाल्पाको रानीमहल–अर्गेली सडक खण्ड अवरुद्ध भएको छ । उक्त सडकखण्डका विभिन्न स्थानमा ठूल्ठूला ढुंगा झरेका छन् ।
जिल्ला प्रहरी कार्यालय, पाल्पाका डीएसपी सुगन्ध श्रेष्ठले ठूलो पानी परिरहेकाले सडकमा झरेको पहिरो र ढुंगा हटाउन काम अझै हुन नसकेको बताए ।
त्यस्तै तिनाऊ गाउँपालिका ५ मा झरेको पहिरोले सिद्धार्थ राजमार्ग पनि अवरुद्ध छ ।
वर्षाले रुख ढलेपछि अवरुद्ध तानसेन–गुल्मी सडकखण्डको बाइपास भएको सडक भने खुलेको छ ।