
बारा, ६ असोज– नेकपा एमालेको गढको रुपमा लिने गरिएको निजगढ नगरपालिकमा एमाले पराजित भएको छ ।
तेस्रो चरणको अन्तर्गत असोज २ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा निजगढ नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका हुन् । काँग्रेसबाट सुरेश खनाल विजयी भएका हुन् ।
माओवादीसँग गठबन्धन गरेको नेपाली कांग्रेसले एमालेका उम्मेदवारलाई ८ सय ३० मत अन्तरले पराजित गरेका हुन् ।
गठबन्धनका तर्फबाट उपप्रमुखको उम्मेदवार बनेका माओवादी केन्द्रका बेनीबहादुर मोक्तान भने पराजित भएका छन्।
प्रमुख पदमा नेपाली कांग्रेसका सुरेशकुमार खनालले ७६४८ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी एमालेका नारायण खड्काले ६८१८ मत प्राप्त गरे।
उपमेयरमा विजय भएकी एमालेकी उम्मदेवार लिला देवी लामिछानेले ६७७३ मत ल्याइन् ।
निजगढमा १३ वटा वडाहरूमध्ये ८ वडामा एमाले र ५ वडामा नेपाली काँग्रेस विजयी भएका छन् ।
राजमार्ग क्षेत्रमा धेरै स्थानीय तह जित्ने आकलन एमालेले गरेको थियो । तर गढ क्षेत्रको रुपमा रहेको निजगणमा पराजित भएसँगै राजमार्ग क्षेत्रमा एमाले कमजोर रहेको विश्लेषण गरिएको छ ।
दुई नम्बर प्रदेशमा ७० प्रतिशत जित्ने दाबी गरेको एमाले अहिलेको पछिल्लो परिणाम अनुसार पाँचौं स्थानमा रहेको छ ।
पहिलो स्थानमा रहेको नेपाली कांग्रेसले एमाले भन्दा तीन गुण बढी स्थानीय तहमा जीत निकालेको छ । नेपाली कांग्रेसले २० स्थानीय तह जित्दा एमालेले ७ वटा स्थानीय तहमा जीत निकालेको छ ।