
फूटबलमा कहिलेकाहीँ अपबादका घटना हुने गर्छन् । शनिवार राति पनि यस्तै अपबादको घटना भयो । जहाँ प्रमुख स्ट्राइकरले गोलकिपरको भूमिका निभाउनु पर्यो ।
कुरा इटालियन सिरी ‘ए’को हो । एसी मिलान र जिओनाबीचको खेलमा यस्तो घटना भएको थियो । जहाँ खेलको अन्तिम ७ मिनेट स्ट्राइकर ओलिभियर जिरुड गोलरक्षक बनेका थिए । उक्त खेलमा खेलमा एसी मिलान इटालियन सिरी ‘ए’ मा विजयी भएको छ ।
१० खेलाडीमा समेटिएको मिलानले १० खेलाडीमै समेटिएको जिनोआलाई १–० ले पराजित गर्दै सिरी ‘ए’ को शीर्ष स्थानमा उक्लन सफल भएको हो ।
मिलानको जीतमा दोस्रो हाफमा क्रिस्टियन पुलिसिचले गरेको गोल नै निर्णायक बन्यो । परिवर्तित खेलाडीको रुपमा मैदान छिरेका पुलिसिचले खेलको ८७औं मिनेटमा गोल गर्न सफल भएका थिए ।
इन्जुरी समयको थप गरिएको नवौं मिनेटमा गोलरक्षक माइक मेइगनान सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि मिलान १० खेलाडीमा समेटिन पुगेको थियो ।
मिलानले आफ्ना सबै पाँच खेलाडी परिवर्तन गरिसकेका कारण अन्तिम सात मिनेट फरवार्ड जिरुडले पोस्ट सम्हालेका हुन् । उनले खेलको अन्तिम समयमा केही उत्कृष्ट बचाउ गर्दै खेल जिताए । मिलानलाई महत्वपूर्ण ३ अंक दिलाए ।
शनिवार राति गोलकिपर बनेका स्ट्राइकर जिरुड सफल फिनिसर मानिन्छन् । उनी फ्रान्स राष्ट्रिय टोलीका सर्वाधिक गोलकर्तासमेत हुन् ।
जिनोआ पनि इन्जुरी समयको थप गरिएको १३औं मिनेटमा १० खेलाडीमा समेटिन पुग्यो । युनुस मुसाहलाई फउल गरेका कारण रेफ्रीले दोहोरो पहेँलो कार्ड देखाउँदै गोलरक्षक जोसेफ मार्टिनेजलाई मैदान बाहिर पठाएका थिए ।
यस जीतले मिलान ८ खेलबाट ७ जित र एक हारका साथ २१ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाटै इन्टर मिलानको १९ तथा युभेन्ट्सको १७ अंक छ । पराजित जिनोआ ८ खेलबाट ८ अंक जोडेर १५औं स्थानमा छ ।
सिरी ‘ए’ कै अर्काे खेलमा इन्टर मिलान घरेलु मैदानमा बोलोग्नासँग २–२ गोलको बराबरीमा रोकिएको छ । इन्टरले दुई गोलको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिन बाध्य बनेको हो ।
अर्काे खेलमा युभेन्टसले टुरिन डर्बीमा टोरिनोलाई २–० ले पराजित गर्दै तेस्रो स्थानमा उक्लिएको छ । युभेन्ट्स शीर्ष स्थानको मिलानभन्दा ४ अंकले पछि छ ।