
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इजरायलमा हमास समूहबाट बन्धक बनाइएका नेपालीको रिहाइको लागि प्रभावकारी पहल गर्न सरकारसँग माग गरेका छन् ।
इजरायलको कृषि र्फममा काम गर्न र सीप सिक्न गएका नेपाली विद्यार्थीको ज्यान गएकोमा दुःख व्यक्त गर्दै ओलीले घाइतेको उद्दार, बन्धको रिहाइ र मृतकको शव ल्याउने प्रबन्ध यथाशीघ्र गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
‘नेपालबाट ‘लर्न एन्ड अर्न’ योजनामा इजरायलको कृषि फर्ममा काम गर्न र सीप सिक्न गएका नेपाली विद्यार्थीको आक्रमणमा परी ज्यान गयो। दशैंको मुखमा सन्तान गुमाउनुको पीडा भोग्नुभएका परिवार र आफन्तजनलाई सम्हालिन कठिन भएको छ। हामी सबै शोकमा छौं,’ सामाजिक सञ्जालमा ओलीले लेखेका छन्, ‘घाइतेको तत्काल उद्दार गर्न, बन्धक बनाइएकाहरूको रिहाइ र मृतकको शव ल्याउने यथाशीघ्र प्रबन्ध गर्न सरकारको ध्यान जाओस्। ज्यान गुमाएका नेपाली विद्यार्थीप्रति श्रद्धाञ्जली ! परिवारजनमा समवेदना !’
ओलीले नेपाली विद्यार्थीले काम सिकिरहेको स्थानमा नेपाली राजदूतले अवलोकन गरेको फाइल तस्वीर पनि सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।
गत शनिबार इजरायलमाको प्यालेटाइनी हमास समूहको आक्रमणमा परी १० जनाको मृत्यु भएको पुष्टि भएको छ । अध्ययन र कृषि फार्ममा काम गर्न गएका केही विद्यार्थी घाइते र बेपत्ता पनि भएका छन् ।