
कोशी प्रदेशमा नेपाली कांग्रेसका ८ सांसदको विद्रोहमा नेकपा (एमाले)का ३९ सांसदको समर्थनमा केदार कार्की मुख्यमन्त्री बनेका छन् । तर प्रधानमन्त्री पुष्ककमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेता डा शेखर कोइरालाबीच कोशीमा सत्ता गठबन्धनकै सरकार सञ्चालन गर्ने सहमति भएको छ ।
बालुवाटारमा तीन नेताबीच यस्तो सहमति भएको प्रधामन्त्रीको सचिवालयले जनाएको छ ।
‘सम्माननीय प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेसका सभापति शेरवहादुर देउवा र नेता शेखर कोइरालाबीच शनिवार बिहान कोशी प्रदेशमा सरकार गठनका सम्बन्धमा देखिएको समस्या र केन्द्रमा सत्ता गठबन्धनलाई थप सुदृढ बनाउने सम्बन्धमा छलफल भएको छ,’ ती नेताको सहमतिपछि प्रधानमन्त्रीको सचिवालयले भनेको छ, ‘छलफलमा कोशी प्रदेशमा सत्ता गठबन्धनकै सरकार सञ्चालन गर्न सहमत हुनुका साथै नेपाली कांग्रेस, माओवादी केन्द्रसहितका दलहरुको वर्तमान संयुक्त गठबन्धनप्रति थप दृढ र स्पष्ट रहेको प्रस्ट पार्दै यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन नदिने लिखित प्रतिबद्धता व्यक्त गरिएको छ ।’
बालुवाटारमा तीन नेताबीच ‘हामी वर्तमान सत्ता गठबन्धनप्रति दृढ र स्पष्ट छौं, यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन दिने छैनौं ।’ भन्ने एक बुँदे हस्तलिखित सहमति भएको थियो । तर यो हस्तलिखित बुँदामा सरकार गठनको विषय उल्लेख छैन । यद्यपि, बालुवाटारले भने एमालेले समर्थन गरे पनि कोशीमा केन्द्रीय सत्ता गठबन्धनकै दल कांग्रेस, माओवादी केन्द्र, नेकपा एस र जसपाको सरकार बनाउने दाबी गरेको हो ।
यी दलको सांसद संख्या सरकार बनाउन पुग्ने ४७ पुग्छ । तर एमालेले पहिले जस्तै उपसभामुख ज्येष्ठ सदस्यलाई अनुपस्थित गराएर बैठक चल्ने परिस्थिति नबनाए विश्वासको मत लिन नयाँ मुख्यमन्त्री कार्कीलाई पनि फेरि कठिन पर्न सक्छ । किनकि, राप्रपाले सहयोग नगर्दा कोशीमा फेरि पनि संकटको स्थिति आउन सक्छ ।
एमालेको समर्थनमा मुख्यमन्त्री भएका कार्कीले सरकार गठनमा एमालेका नेतालाई समेट्नुहुन्छ कि सत्ता गठबन्धनलाई भन्ने संचारकर्मीको प्रश्नमा उनले, ‘अहिले त्यस्तो निर्णय नभएको र काम गर्दै जाँदा परिस्थिति अनुसार गर्ने’ भन्दै कूटनीतिक जवाफ दिएका छन् ।
एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले कोशीमा सरकारमा जान नभइ मध्यावधिमा प्रदेश नजायोस् भन्नेमात्रै आफूहरूको चाहना भएको बताए ।
‘हामी सरकारमा जानका लागि गरेको होइन । मध्यावधिमा नजानका लागि गरेको प्रयत्न हो । गठबन्धनले सरकार चलाउँछ भने हामीलाई चाहिँदैन । हाम्रो चासो मध्यावधिमा जान नदिनु मात्रै हो,’ उनले भने ।