
काठमाडौं । रियालिटी शो ‘एनआरएन द सिङगर’ को ग्रान्ड फिनालेको तयारी पूरा भएको छ । आइतबार दिउँसो काठमाडौंमा लाइभ प्रस्तुति पछि विजेता र उपविजेताहरुको टुंगो लाग्ने छ ।
'एनआरएन द सिंगर' को सुरुमा अडिसनका लागि खुलारुपमा एनसीसीमार्फत आह्वान गर्दा ८७ देशका एनसीसीहरुलाई पत्राचार गरिएको थियो । त्यसमा ३७ देशबाट अडिसनका लागि वेबसाइट, इमेल र ह्वाट्सएपबाट ३०० बढीको आवदेन परेको थियो । त्यसमध्ये आयोजक र जज मिलेर उत्कृष्ट ४० जनाको छनोट गरिएको छ ।
उत्कृष्ट ४० जनाको प्रस्तुति टेलिभिजनमा प्रसारण भएपछि ३ जना निर्णायक शम्भु राई, शर्मिला बर्देवा र रुपककुमार शाही समुदाले उत्कृष्ट २० जनालाई अर्को चरणमा प्रवेश गराएका थिए । २० जनाको प्रतिस्पर्धामा ५ जना बाहिरिए पछि उत्कृष्ट १५ मा पुगेका थिए भने उत्कृष्ट १५ बाट अहिले ग्रान्ड फिनालेसम्म आइपुग्दा अनलाइन भोटिङको पनि व्यवस्था गरिएको थियो । फिनालेका लागि ५ प्रतिस्पर्धीले आफ्नो प्रतिभा प्रदर्शन गरिसकेकाले आइतबार अपरान्ह ५ बजेसम्म अनलाइन भोटिङको व्यवस्था गरिएको छ । ५ वजेभित्र सर्वाधिक भोट ल्याउने प्रतिस्पर्धी नै एनआरएन द सिंगरको पहिलो विजेता हुने छन् ।
ग्रान्ड फिनालेको प्रत्यक्ष प्रसारण सामाजिक सञ्जालबाट हुने छ भने स्पेस फोर के टेलिभिजनमार्फत पनि प्रसारण हुने छ ।
कर्मा दोङ तामाङ, विष्णु क्षत्री, सुवासचन्द्र पुनमगर, गुना मगर निसु र युक्ती विमलीले ग्रान्ड फिनालेका लागि स्थान पक्का गरेका छन् । ग्रान्ड फिनालेका लागि आइतबार दिउँसो मेरियट्स होटेलमा कार्यक्रम तय गरिएको कार्यक्रम उत्पादक युनिटेकका सुरज राइले जानकारी दिए ।