
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार सत्ता टिकाउन चिर्कटो सम्झौतामा केन्द्रित रहेको आरोप लगाएका छन् । रुपन्देही उद्योग संघको ४५ औं साधारणसभा तथा २३ औं अधिवेशनको सोमवार बुटवलमा उद्घाटन गर्दै उनले सत्ता र शक्ति बचाउनका लागि चिर्कटो सम्झौता गर्दागर्दै राष्ट्रको अर्थतन्त्र भयावह हुँदा पनि त्यसतर्फ सोच्ने सरकारलाई फुर्सद नभएको टिप्पणी गरे ।
नेता पौडेलले भने, ‘सरकारलाई देशको अर्थतन्त्रका समस्याबारे कुनै मतलब छैन, चासो छैन, सत्ता र सरकार टिकाउने, कागजमा लेखेको चिर्कटो सम्झौता गर्दा ठीक्क छ, देशको अर्थतन्त्र र उद्योगी व्यवसायीका बारेका कहाँ छलफल गर्छ ! सरकारको ध्यान यो गठबन्धन जोगिनुपर्यो भन्नेमा मात्र केन्द्रित छ ।’
जनता र राष्ट्रका समस्या समाधान गर्न नसक्ने गठबन्धन सरकारको कुनै अर्थ नभएको उनले टिप्पणी गरे ।
देशको अर्थतन्त्र मन्दीको अवस्थामा पुग्दासमेत सरकारले स्वीकार अझै नगरेको पौडेलले बताए । सरकारको नीति र कार्यशैलीप्रति कुनै पनि उद्योगी सन्तुष्ट हुने अवस्था नभएको पूर्वअर्थमन्त्रीसमेत रहेको उनको भनाइ छ । उद्योगी र व्यवसायीहरूको टाउकोमा घँगेरूको लाठी बर्साएको उनको टिप्पणी थियो ।
‘उद्योगीका समस्या के छन् सरकारले सुन्दैन, समाधान गर्न के गर्नुपर्छ त्यसमा सहयोगी बन्दैन, अनि टवाङ–टवाङ टाउकोमा हिर्काउँदै हिडिँरेको छ । उद्योगी र व्यवसायीलाई त्रसित गर्ने, आतंकित गर्ने, उनीहरूको भय दोहन गर्ने, उनीहरूबाट अनुचित किसिमको लाभको अपेक्षा गर्दै लाठीसहित हिँडेको छ,’ उनले थपे ।
जसले गर्दा पूँजी पलायन हुँदै गएको बताउँदै उपाध्यक्ष पौडेलले भएका उद्योग पनि बन्द हुने अवस्था सिर्जना हुँदैगएको बताए । उद्योगहरूले आफ्नो क्षमताको ५० प्रतिशत उत्पादन गर्नसमेत नसकेको उनले संकेत गरे ।
‘आपूर्ति, माग र उत्पादन नभएको देश धानिन्छ कसरी ?’, पौडेलले सरकारलाई प्रश्न गरे । यो अवस्था आउनु भनेको देशका लागि धेरै ‘सिरियस इन्डिकेसन’ भएको पनि उनले सचेत गराए । नेपालमा लगानीका लागि अनुकूल वातावरण नभएको सन्देश विदेशीसम्म पुगेकाेसमेत पौडेलको गुनासो थियो ।
उनले मोतिपुर औद्योगिक क्षेत्र र तिनाउ दानव करिडोर बन्न नदिने गरी ढुंगा हान्ने प्रयत्न भइरहेको भन्दै त्यो कार्य सफल नहुने बताए ।
यस्तै प्रतिनिधिसभा सदस्य तथा एमाले नेता वासुदेव घिमिरेले देश आन्तरिक कारणले देशको अर्थतन्त्र थलिएको बताए ।
यसैगरी रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेलले आर्थिक संकटसँगै युवा शक्तिको पलायनले उद्योगको विस्तार र पुस्तान्तरणमा समेत संकट सिर्जना हुने डरलाग्दो अवस्थाले उद्योगीहरू पिरोलिएको गुनासो पाखे ।