
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारका अरू केही नयाँ फाइल छिट्टै खुल्ने बताएका छन् ।
कैलालीको धनगढीमा सोमवार समाजवादी मोर्चाको सुदूरपश्चिमस्तरीय सभालाई सम्बोधन गर्दै प्रचण्डले भ्रष्टाचारको नयाँ फाइल खोल्न लागेको बताएका हुन् ।
‘अहिले धेरै बोल्न मिल्दैन, अरू पनि केही फाइल छिट्टै खुल्दैछन्, सरकारले भ्रष्ट तत्त्वका विरुद्ध एकपछि अर्को फाइल खोल्दैछ,’ प्रचण्डले भने ।
सरकार गठन भएदेखि नै सुशासनको पक्षमा काम गरिरहेको दाबी समेत उनले गरे ।
नक्कली शरणार्थी, ललितानिवास र सुन तस्करी सम्बन्धमा सरकारले अनुसन्धान गरेर एउटा निष्कर्षमा पुर्याएको प्रचण्डले बताए ।
विगतमा भ्रष्टाचारमा पल्केकाहरूले अहिलेको सरकारलाई ढाल्न खोजेको आरोप समेत उनले लगाए ।
‘ओम्नी सबैलाई थाहा छ, यती काण्ड सबैलाई थाहा भएको छ,’ प्रचण्डले भने ।
प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारको आरोपमा कर्मचारीहरू पक्राउ परेकाले निर्णय गर्न कर्मचारीहरू हच्किएको पनि बताए ।
‘कर्मचारीहरू अलि कति पनि जोखिम मोल्न तयार छैनन्, कर्मचारीमा आतंक छ । मैले तपाईंहरू अगाडि बढ्नुस्, संरक्षण सरकारले गर्छ भन्दा पनि मानिरहेका छैनन्,’ प्रचण्डले भने ।