सन् २०२६ मा हुन गइरहेको विश्वकप फूटबलको दक्षिण अमेरिकी छनोटमा ब्राजिल उरुग्वेसँग स्तब्ध बनेको छ । बुधवार बिहान भएको खेलमा सर्वाधिक ५ पटकको विश्वविजेता ब्राजिल घरेलु टोली उरुग्वेसँग २–० गोल अन्तरले स्तब्ध बनेको हो ।
उरुग्वेको जीतमा डार्विन नुनेज र निकोलस क्रुजले १–१ गोल गरेका थिए ।
नुनेजले ४२ औं मिनेटमा उरुग्वेलाई अग्रता दिलाएका थिए । फेरि क्रुजले ७७ औं मिनेटमा गोल थप्दै उरुग्वेको जीत सुनिश्चित गराए ।

नेइमारसहित स्टार खेलाडीले भरिएको ब्राजिलले गरेका गोलका प्रयास खेर गएका थिए ।
जीतसँगै उरुग्वे तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । ४ खेलबाट समान ७ अंक भए पनि ब्राजिल गोल अन्तरका आधारमा उरुग्वेभन्दा पछि रहँदै तेस्रो स्थानमा झरेको छ ।
समान खेलबाट १० अंक जोडेको अर्जेन्टिना शीर्ष स्थानमा छ ।