काठमाडौं, ८ असोज— तेस्रो चरणको स्थानीय तह निर्वाचनको मतगणना जारी रहेको छ । आइतबार बिहानसम्म प्राप्त नतिजाअनुसार ११४ स्थानीय तहको नतिजा घोषणा भएको छ ।

जसमा नेपाली कांग्रेस ३४ स्थानमा विजयी हुँदै शीर्ष स्थानमा रहेको छ । यस्तै संघीय समाजवादी फोरम २२ तह जित्दै दोस्रो स्थानमा देखिएको छ । यसैगरी नेकपा माओवादी केन्द्र र राजपा नेपालले क्रमश १९ र २० तह जितेका छन् । यस्तै एमालेले १३ तह जित्दै पाँचौ स्थानमा देखिएको छ । जवकी पहिलो र दोस्रो चरणको निर्वाचनमा एमाले पहिलो बनेको थियो ।
यस्तै लोकतान्त्रिक फोरम ३, जनता दल २ र नयाँ शक्ति एक स्थानमा विजयी भएको छ ।
अब २२ तहको नतिजा गन्न बाँकी रहेको छ । यद्यपी मतगणना निकै सुस्त गतिमा अघि बढेको गुनासो आइरहेको छ । निर्वाचन आयोगले मतगणना ५ दिनभित्र गनिसक्ने लक्ष्य लिएको भएपनि एक साता पुग्नै लाग्दा पनि अझैं २२ तहको नतिजा आउन नसकेको हो । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले अबको २—३ दिनभित्र सबै नतिजा आइसक्ने बताए । उम्मेदवारहरुबीच मनान्तर निकै साँघुुरो हुँदा सबै प्रतिनिधिलाई देखाउँदै र चित्त बुझाउँदै गणना गर्नुपर्दा ढिलो हुन पुगेको आयोगको भनाई छ ।
असोज २ गते प्रदेश नम्बर २ को ८ जिल्लाका १३६ स्थानीय तहमा तेस्रो चरणको स्थानीय तह निर्वाचन भएको थियो ।