१२ साउन २०८३, मंगलबार
सरसर्ती २४ घण्टा

गैरआवासीय नेपाली संघमा भाँडभैलोदेखि बागमती कांग्रेसमा छटपटीसम्म

कात्तिक ३, २०८०
काठमाडौं
गैरआवासीय नेपाली संघमा भाँडभैलोदेखि बागमती कांग्रेसमा छटपटीसम्म

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित छौँ–
गैरआवासीय नेपाली संघ (एनआरएनए) मा भाँडभैलो मच्चिएको छ । नयाँ कार्यकालका लागि भएको निर्वाचनमा बद्री केसी अध्यक्षमा निर्वाचित भएसँगै धाँधली भएको आरोप लगाउँदै प्रतिस्पर्धीद्वय महेश श्रेष्ठ र आरके शर्माले मतपरिणाम अस्वीकार गरेका हुन् । सिस्टम ह्याक गरेर आफ्नो पक्षमा नतिजा ल्याएको भन्दै श्रेष्ठ र शर्माका समर्थकले गएराति निर्वाचनस्थल होटल सोल्टी परिसरमा चर्को नाराबाजी समेत गरेका थिए ।
००००
कोशीमा नेपाली कांग्रेसका ८ सांसदले विद्रोह गरेपछि यसको असर अन्य प्रदेशमा पनि पर्न सक्ने देखिएको छ ।
डा शेखर कोइराला पक्षका ८ सांसदले विद्रोह गरेर कोशीमा केदार कार्कीलाई मुख्यमन्त्री बनाएपछि बागमती प्रदेशमा पनि सत्ता समीकरणको फेरबदलका विषय उठेका छन् ।

नेपाल प्रेस युनियनले गरेको दशैं शुभकामना आदानप्रदान कार्यक्रममा कांग्रेस महामन्त्री गगन थापाले कांग्रेसका ४ सांसदले बागमती सरकार बदल्न प्रस्ताव गरेको बताएका हुन् ।

‘आज बिहानमात्रै बागमती प्रदेशका ४ जना सांसदहरू आउनुभयो । बागमतीमा हामी ठूलो पार्टी हौं । हामी माओवादीलाई मान्दैनौं । सरकार बदलौं र हाम्रो नेतृत्वमा सरकार बनाऔं ।’ गगनले बिहीबार भने ।

संसदीय दलको निर्वाचनमा बहादुरसिंह लामाले इन्द्र बानियाँलाई पराजित गरेयता बागमती कांग्रेसमा तनावको स्थिति छ ।
००००
बागमती प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले पाएका छन् ।     

प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिहीबार लामालाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिएका हुन्। मूख्यमन्त्री शालिकराम जम्कट्टेल व्यक्तिगत कारणले मुलुक बाहिर जाने भएकाले कार्यवाहक मूख्यमन्त्रीको जिम्मेवारी लामालाई दिइएको हो ।
००००
जिउँदो खसी र च्याङ्ग्राको बिक्री मूल्य घटेको छ । जिउँदो खसीको मूल्य प्रतिकिलो २० रुपैयाँ र च्याङ्ग्राको मूल्य प्रतिकिलो २५ रुपैयाँ घटाइएको उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
००००
निर्माण व्यवसायीहरूको रु ६ अर्ब रुपैयाँ दशैं अघि नै भुक्तानी हुने भएको छ ।
निर्माण व्यवसायीलाई भुक्तानीका लागि अर्थ मन्त्रालयले नीतिगत निर्णय गरी सम्बन्धित कार्यालयमा परिपत्र गरिसकेको छ ।
उक्त भुक्तानी दशैंअघि नै निर्माण व्यवसायीका खातामा जाने गरी व्यवस्था गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।
००००
नेपाल नागरिक उड्डयन प्राधिकरणले देशभरका विमानस्थल भित्र राखिएका वस्तु तथा सेवाको व्यापार गर्ने पसलहरूले लिन पाउने मूल्यको सीमा तोक्न उच्चस्तरीय समिति गठन गरेको छ ।

प्राधिकरणले बिहीवार उपमहानिर्देशक जगन्नाथ निरौलाको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरेको हो । 
००००
राष्ट्रपति रामचन्द्र पौडेलले सर्वसाधारणलाई दशैंको टीका लगाइदिने भएका छन् ।
कात्तिक ७ गते मंगलवार विजया दशमीका दिन राष्ट्रपति पौडेलले विशिष्ट व्यक्ति र सर्वसाधारणलाई टीका लगाइदिने राष्ट्रपति कार्यालयले जनाएको छ ।
००००
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज अस्पतालले बिहीबार दिउँसो एक सूचना जारी गर्दै उनको स्वास्थ्य सुधारोन्मुख रहेको जानकारी दिएको हो ।
००००
त्रिदेशीय टी–२० सिरिजमा नेपालले हङकङविरुद्ध सहज जीत हात पारेको छ । ९५ रनको लक्ष्य पछ्याएको नेपालले हङकङविरुद्ध ६ विकेटको जीत हात पारेको हो ।
००००
एसीसी यू–१९ प्रिमियर कपमा नेपालले साउदी अरेबियामाथि भारी अन्तरको जीत हात पारेको छ ।
जीतसँगै नेपाल समूह विजेता बन्दै सेमीफाइनलमा प्रवेश गरेको छ । मलेसियामा बिहीवार भएको खेलमा नेपालले ३०१ रनको जीत निकालेको हो ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चाडपर्वमा कुनै पनि खालका उपहार नस्वीकार्ने र नदिने जनाएको छ । जनताप्रति समदुरीमा रहेर  सक्रिय रहनुपर्ने भन्दै रास्वपाले उपचारको आकर्षण र प्रलोभनबाट दलहरू मुक्त हुनुपर्ने भन्दै उनले उपहार लिने र दिने कार्यक्रम नगर्ने जनाएको हो ।
००००
नेपाल सरकारले गाजा क्षेत्रको अस्पतालमा भएको आक्रमणले गम्भीर ध्यानाकर्षण गराएको जनाएको छ । बिहीबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै गाजाको अस्पतालमा आक्रमण गरी नागरिकको ज्यान लिएको घटनाले सरकार स्तब्ध भएको बताएको हो ।  

salt training

कमेन्ट गर्नुहोस्