
काठमाडौं ८ असोज– धेरैको पूर्वानुमान विपरित प्रदेश नम्बर दुईमा सम्पन्न स्थानीय निर्वाचनमा संघीय समाजवादी फोरमले ‘चमत्कार’ गरेको छ । नेपाली कांग्रेस पहिलो र राष्ट्रिय जनता पार्टी दोस्रो दल बन्ने धेरैले विश्लेषण गरेका थिए । तर ‘कम आकिएको’ फोरमले प्रदेश नम्बर २ मा दोस्रो स्थान हासिल गरेको छ ।
आइतवार मध्यान्नसम्म मतगणना सकिएका स्थानमा फोरमले अग्रता लिएको छ, फोरमले २३ स्थान जितेको छ भने राजपा २२ स्थानमा जितेको छ । नजिता सार्वजनिक हुन बाँकी रहेको स्थानमा पनि फोरमको अग्रता छ । दुई नम्बर प्रदेशको एकमात्र महानगर वीरगञ्जमा पनि फोरमले अग्रता लिएको छ ।
स्थानीय तहको चुनावमा दशक अघि मधेस आन्दोलनको नेतृत्व गरेको फोरमले मधेसमा आफ्नो ताकत देखाएको छ । नेपाली कांग्रेसले अपेक्षाकृत भोट ल्याउन सकेन भने मधेस केन्द्रित ६ दल मिलेर बनेको राजपालाई फोरम एक्लैले चक्मा दिएको छ । राजपाका लागि प्रतिष्ठाको लडाइ बनेको दुई नम्बर प्रदेशमा फोरम दोस्रो पार्टी बन्नुको राजनीतिक अर्थ छ ।
२०७० सालको संविधानसभा निर्वाचनमा फोरमले प्रदेश नम्बर २ का ८ वटा जिल्लामा एउटा पनि सिट जित्न सकेको थिएन । गत संविधानसभा निर्वाचनमा प्रत्यक्ष तर्फ दुई सिट जितेको फोरमका लागि उपेन्द्र यादवले सुनसरी र अभिषेकप्रताप साहले कपिलवस्तुबाट जित निकालेका थिए । बरु राजपामा गाभिएका तमलोपा, तराइ मधेस सद्भावना पार्टी, विजयकुमार गच्छदारको लोकतान्त्रिक फोरमले प्रदेश नम्बर २ मा चुनाव जितेका थिए ।
राजपालाई छाडेर फोरमको रोजाईमधेस केन्द्रीत दुई दल समाजवादी फोरम र राजपाको चुनावी एजेण्डा खासै फरक थिएनन् । तर राजपालाई छाडेर मधेसका जनताले फोरमलाई किन रोजे त ? मधेस आन्दोलन र मधेसवादमा विद्यावारीधि गरेका विश्लेषक डा राजेश अहिराज कांग्रेसप्रतिको अन्धभक्तिका कारण राजपालाई मधेसी जनताले मन नपराएको बताउँछन् ।
‘फोरम पहिले देखि नै चुनावको पक्षमा उभिएको थियो र उसले निर्वाचनलाई पनि आन्दोलनकै पक्षमा अगाडि लैजाने भनेको थियो’ अहिराजले लोकान्तरसँग भने, ‘राजपा भने सधै अलमलमा थियो, बिहान चुनावमा नजाने भन्ने, दिउँसो जाने भन्ने, बेलुका अर्कै कुरा गर्ने ।’
सप्तरीको मलेठमा पाँचजनाको मृत्यु हुनेगरी भएको घटनापछि गृहमन्त्रीको राजीनामा समेत माग्न नसकेका कारण राजपाप्रति मधेसी जनता आकर्षित बन्न नसकेको अहिराजको विश्लेषण छ ।
मधेसी जनताले अनुमोदन गरिदिएः यादव मधेसी जनअधिकार फोरम नेपालका नेता डा शिवजी यादव मधेस केन्द्रित ६ दलको एकीकरणको मनोविज्ञानका कारण फोरम दुई नम्बर प्रदेशमा पहिलो पार्टी बन्न नसकेको बताउछन् ।
‘मधेश आन्दोलनको नेतृत्व गरेको र मधेश आन्दोलनको एजेण्डा उठाएका कारण फोरमप्रति मधेशी जनताको अटुट विश्वास देखियो’ यादवले लोकान्तरसंग भने, ‘स्थानीय तहको चुनावबाट मधेसकको मुख्य दल फोरम हो भन्ने पनि प्रमाणित भएको छ ।’
निराश बन्नु पर्ने अवस्था छैन : सुमनराजपा महासचिव मनिष कुमार सुमन स्थानीय तहको नजितावाट आफूहरु निराश नभएको बताउँछन् । ‘मधेसी जनताको पक्षमा गरेको आन्दोलनका कारण राजपा पहिलो पार्टी बन्नु पर्ने थियो, तर नतिजाबाट हामी निरास भएका छैनौ’ सुमनले लोकान्तरसंग भने, ‘दल दर्ता भएको ६ दिनमा चुनाव चिह्न पाउनु पर्ने, चुनावको ११ दिन अघिमात्र उम्मेदवारको टुंगो लगाउनु परेको तथा, पार्टी एकीकरणको चार महिनामा चुनाव फेस गर्नु पर्ने लगायत प्रतिकुलता थिए ।’ मनिषले सबै स्थानको नतिजा आइसक्दा राजपा दुई नम्बर प्रदेशमा दोस्रो दल बन्ने दावी गर्छन् ।