०१ असार २०८३, सोमबार

दशैँसँगै गाउँघरमा चहल–पहल बढ्यो, कोही ६ वर्षपछि भारतबाट फर्किए

कात्तिक ६, २०८०
काठमाडौं
दशैँसँगै गाउँघरमा चहल–पहल बढ्यो, कोही ६ वर्षपछि भारतबाट फर्किए

टीकापुर-कैलालीकाे टीकापुरकी चन्द्रादेवी शाहीका छोराबुहारी ६ वर्षपछि दशैँ मनाउन घर फर्किएका छन् । भारतमा रहेका उनीहरू घर फर्केपछि चन्द्रादेवीको खुशीको सीमा छैन । अहिलेसम्मकै रमाइलो दशैँ भएको छ । यस वर्ष म निकै खुशी छु’, उनी भन्छिन्  ‘बालबच्चासहित भारतमा बस्ने छोरा घर फर्किएको छ । यस वर्ष परिवारसँग रमाइलोसँग मनाउन थालेका छौँ ।’

टीकापुर ब्लक नम्बर १६ का नवराज कुँवरलाई नवदुर्गाको पूजाआजा गर्न पाउँदा, सबै आफन्तसँग भेटघाट हुँदा रमइलो लाग्छ । ‘‘दशैँ विशेष लाग्छ, नवरात्रमा ब्रत बस्ने, पूजाआजा गर्ने, मन्दिर दर्शन गर्ने कार्य राम्रो लाग्छ’, उनले भने,  ‘‘पारिवारिक जमघट र आर्शीवाद लिने र दिने कार्य निकै रमाइलो लाग्छ ।’

कैलालीकी राजकुमारी चौधरीलाई दशैँ विशेष लाग्छ । उनलाई दशैँमा गरिने नाचगान, खानपान रमाइलो हुनुका साथै गाउँ नै उत्साहित भएजस्तो लाग्छ । ‘थारू गाउँमा दशैँको अवसरमा एक महिनासम्म नाचगान हुन्छ, थारू समुदाय आपफ्नो पोशाक लगाएर संस्कृति झल्कने, मौलिक भाषामा गीत गाएर, मादलको तालमा गाउँमा नाचगान हुन्छ,’ उनले भने, ‘‘त्यसैले दशैँ विशेष लाग्छ ।’
    
स्थानीय केशर उपाध्यायलाई पनि दशैँ विशेष लाग्छ । ‘‘दशैँसँग हाम्रो संस्कृति, सभ्यता र परम्परा जोगिएको छ,’ उनी भन्छन्,  ‘वर्षभरि भेट नभएका आफन्त भेटिने भनेकै दशैँमा हो ।’ दशैँमा सबै परिवार जम्मा हुने, नयाँ लुगा लगाउने, मीठा परिकार खाने, नाचगान तथा रमाइलो गर्ने भएकाले दशैँ रमाइलो लाग्छ । लक्ष्य साउदलाई पनि दशैँ आर्शीवाद दिने र लिने पर्व भएकाले महत्वपूर्ण लाग्छ । उनलाई हुने खानेले धुमधाम गर्ने नहुनेले अभाव झेल्ने कुरालाई राम्रो लाग्दैन । 

ठूला मानिसभन्दा बालबालिकालाई दशैँमा अझ रमाइलो लाग्छ । दशैँमा विद्यालयसमेत विदा हुने, घुमघाम गर्न र मीठा परिकार खान पाइने भएकाले बालबालिका अझ रमाउँछन् । कक्षा ९ मा अध्ययनरत बालक योगेश साउद दशैँमा नयाँ कपडा पाइने, विभिन्न ठाउँमा अभिभावकसँग घुम्न पाउँदा निकै रमाइलो लाग्छ । ‘यस वर्ष पनि बाबा आमाले घुम्न लैजाने भन्नुभएको छ,’ उनी भन्छन्, ‘एक महिना विदा छ, यो समयमा अलिकति गृहकार्य (पढाई)को तनाव हुन्छ । त्यसबाहेकको सबै समय रमाइलो लाग्छ ।’

दशैँ मनाउन नमिल्ने परिवारलाई भने दशैँले खासै उत्साह दिँदैन । अन्यले दशैँ मनाउँदा मनाउन नपाउने परिवारलाई भने नरमाइलो पनि हुन्छ । टीकापुरकी धनशोभा रावलको घरमा यस वर्ष दशैँ छैन तर पनि उनी गाउँघर झिलिमिली भएको देखेर रमाएकी छिन् ।  ‘हरेक पर्वको महत्व उत्तिकै हुन्छ । दशैँ अझ विशेष पर्वका रुपमा मनाइने भएकाले यो पर्वले एकता, मेलमिलापको सन्देश दिनुपर्छ,’ उनले भनिन्, ‘सबैको दशैँ नहुन सक्ने भएकाले समाजमा पर्व मनाउँदा अर्काको मन दुखाउने, अन्यलाई असर पर्ने गरी कुनै क्रियाकलाप भने गर्नु हुँदैन ।’ -रासस

salt training

कमेन्ट गर्नुहोस्