०५ साउन २०८३, मंगलबार
एसिया कपमा छनोटसँगै उपाधि पनि

यूएईलाई हराउँदै नेपालले जित्यो एसीसी यू–१९ प्रिमियर कपको उपाधि

कात्तिक ७, २०८०
काठमाडौं
यूएईलाई हराउँदै नेपालले जित्यो एसीसी यू–१९ प्रिमियर कपको उपाधि

यूएईलाई हराउँदै नेपालले एसीसी यू–१९ प्रिमियर कपको उपाधि जितेको छ ।

मलेसियाको क्वालालाम्पुरस्थित बायोमास ओभलमा मंगलवार भएको खेलमा नेपालले यूएईमाथि १९ रनको जीत हासिल गरेको हो ।

डकवर्थ लुइस पद्धतिका आधारमा १९८ रनको लक्ष्य पाएको यूएईले २६.५ ओभरमै सबै विकेट गुमाएर १७८ रनमात्रै बनाउन सक्यो । यससँगै नेपालले १९ रनको जीत हात पारेको हो ।

नेपालले पूरै ओभर खेल्दै यूएईलाई २८१ रनको लक्ष्य दिएको थियो । तर,  वर्षाका कारण खेल प्रभावित हुँदा २७ ओभरमा छोट्याएर डकवर्थ लुइस मेथडमा नयाँ लक्ष्य निर्धारण गरिएको हाे । 

उक्त लक्ष्य पछ्याउने क्रममा यूएईका ध्रुव परशरले अर्धशतकसहित सर्वाधिक ५९, आर्यान्स शर्माले ३२, कप्तान आयन अफ्जल खानले ३०, ययिनकिरण राईले १७ रन बनाए । अन्य ब्याटरले दोहोरो अंक पनि बनाउन सकेनन् ।

नेपालका बलर आकाश त्रिपाठीले ४, सुवास भण्डारीले ३, आकाश चन्दले २ र हेमन्त धामी १ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २८० रन बनाएको थियो ।

नेपालका लागि कप्तान देव खनालले सर्वाधिक १०० रन बनाए । ९२ बल खेलेका उनले ९ चौका ३ छक्का प्रहार गरे । 

यस्तै उत्तम थापामगरले ५७ र अर्जुन कुमालले ५५ रन बनाए । दीपक डुम्रेले २८ रन बनाए । 

यूएईका हरित शेट्टीले ५ विकेट लिए ।

नेपालले समूह चरणका तीन वटै खेलमा जीत हात पारेको थियो । नेपालले आफ्नो पहिलो खेलमा इरानलाई २७४ रन, दोस्रो खेलमा बहराइनलाई ७ विकेट र तेस्रो खेलमा साउदी अरेबियालाई ३०२ रनले पराजित गरेको थियो ।

वर्षाले प्रभावित सेमिफाइनलमा नेपालले जापानविरुद्ध १४३ रनको फराकिलो जीत निकालेको थियो । सेमिफाइनल प्रवेश गरेसँगै एसिया कपमा लागि छनोट भइसकेका नेपाल र युएई भारत र पाकिस्तान सम्मिलित समूह ‘ए’ छन् । एसिया कप डिसेम्बरमा पाकिस्तानमा आयोजना हुँदैछ ।
 

salt training

कमेन्ट गर्नुहोस्