
दलबीच मेलमिलाप र एकताको सन्देश दिन नेपाली कांग्रेसले हरेक वर्ष दशैैंको कोजाग्रत पूर्णिमाको दिन चियापान कार्यक्रम गर्दै आएको छ । यस्तो चियापानमा हरेक राजनीतिक दललाई आमन्त्रण गर्दै कांग्रेसले शनिबार केन्द्रीय कार्यालय सानेपामा चियापान कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एमाले)का अध्यक्ष केपी ओली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेकपा एसका अध्यक्ष माधव नेपालदेखि दलका नेता र कुटनीतिक नियोगका पदाधिकारीसम्मलाई देउवाले स्वागत गरे ।
तर राजनीतिक दलको चियापानमा राजनीतिक सन्देश दिन पनि नेताहरू पछि परेनन् ।
दशैंसहितका चाडपर्वको सन्देश र शुभकामना दिन भनिए पनि नेताहरूले चियापानमा राजनीतिक सन्देश दिएका हुन् ।
कार्यक्रममा नेताहरूले केही न केही हिसाबमा मिलेर जानुपर्ने चुनौती रहेको स्वीकार भने गरे ।
कार्यक्रममा सँगैजस्तो बोलेका कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीले आफूहरूमाथि प्रश्न उठाउने प्रयास भएको भन्दै उचित समयमा जवाफ दिने बताए ।
‘प्रश्न उठ्दै गर्छन् । तर हामी उचित समयमा जवाफ दिन्छौं,’ पुराना दलका पनि पुराना नेतामाथि एकपछि अर्को प्रश्न उठे नि भन्ने संचारकर्मीको प्रश्नमा देउवाले भने, ‘तर तपाईंहरूले भनेजस्तो चुनौती बढेको छैन ।’
ओलीसँगै उभिँदा यस्तो बताएका उनै देउवाले चियापानको अन्तिममा भने पुराना दलमाथि चुनौती नबढेको बताए ।
‘चुनौती बढेको छैन । तर सामान्य आलोचना हुनु स्वाभाविक हो । प्रजातान्त्रिक पार्टी भएकाले आलोचना हुन्छ यो स्वभाविक हो ।’
तर चियापानमा देउवासँगै स्टेजमा देखिएका ओलीले भने आफूरूमाथि प्रश्न उठाउने प्रयास भएको बताए । ‘हामीमाथि प्रश्न उठेको छैन । तर प्रश्न उठाउने प्रयास भएको छ,’ गत निर्वाचनबाट उदाएको रास्वपातर्फ लक्षित गर्दै ओलीले भने, ‘हामी यथोचित समयमा जवाफ दिन्छौं ।’
यी दुई नेताबीच चियापानमा आएका प्रधानमन्त्री प्रचण्डले दलमाथि उठाइएको प्रश्नको सामाना साझा रुपले गर्नुपर्ने बताए ।
‘मैंले त प्रधानमन्त्रीको जिम्मेवारी प्राप्त गरेदेखि नै राजनीतिक दलहरूका बीचमा समझदारी बनाउन प्रयास गर्दै आएको छु,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘तर मुलुकमा अराजकता सृष्टि गर्ने उद्देश्यका साथ राजनीतिक दलहरूमाथि प्रश्न उठाउने गरिएको छ । सबै दल एक ठाउँमा उभिएर यस्तो प्रवृत्तिविरुद्ध जवाफ दिने तयारीमा छौं ।’
कांग्रेसले आयोजना गरेको चियापानजस्ता कार्यक्रमले राष्ट्रिय राजनीतिमा समझदारी बढाउने पनि प्रचण्डले बताए । राजनीतिलाई स्थिरतातिर लान यस्ता कार्यक्रमले सघाउने उनको भनाइ थियो ।
‘मुलुकलाई सहमति र समझदारीको बाटोमा लैजाने तथा जनताको अपेक्षाअनुसार विकासनिर्माण र समृद्धिलाई अघि बढाउन चियापानले कुनै न कुनैरुपले सहयोग गर्दै आएको छ,’ उनले भने ।
तर यी तीन नेतापछि चियापानमा कार्यक्रममा सहभागी भएर प्रतिक्रिया दिँदा रास्वपा सभापति रवि लामिछानेले पुराना दलप्रति घुमाउरो जवाफ दिए । ‘हाम्रो प्रतिस्पर्धा दलसँग होइन । हामीले लड्ने देशको गरिबी र भ्रष्टाचारसँग हो । दलबीच चुनावमा मात्रै प्रतिस्पर्धा हो तर हामीले लड्नुपर्ने विषय साझा छन् ।’
चुनावका बेला लोकतान्त्रिक प्रतिस्पर्धा भए पनि दलहरू साझा मुद्दामा एक ठाउँमा उभिनुपर्ने उनले बताए ।

उनले अरु दललाई कुनै चुनौती मान्ने पक्षमा आफू नभएको स्पष्ट पारे । ‘चुनौती अन्त छैन । दल बनाउनुपर्ने भएकाले चुनौती हामी आफैंभित्र छ । आफ्नै ्गोडामा अल्झिएर लडिन्छ कि भन्ने चुनौती हामीलाई छ,’ लामिछानेले भने, ‘हाम्रो लागि पार्टी निर्माण, संगठन निर्माण, दस्तावेज बनाउनुपर्ने नै हाम्रो चुनौती हो ।’
कांग्रेस संस्थापक बीपी कोइरालाको मेलमिलापको सान्दर्भिकता अझै पनि रहेको भन्दै उनले यो मुद्दा केन्द्रित हुन आवश्यक रहेको बताए । ‘मेलमिलाप आफैंमा राम्रो हो । तर शब्दमा मात्रै मेलमिलाप भनेर हुँदैन,’ उनले भने, ‘मेलमिलाप साँच्चै नेपाली जनताको मुद्दामा केन्द्रित हुन्छ भने यसको सान्दर्भिकता कहिल्यै घट्दैन ।’
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि अप्ठ्यारो चुनौतीका बीच परिवर्तनकामी शक्ति एकजुट हुनुपर्ने बताए । कांग्रेसको चियापान कार्यक्रममा मधेसकेन्द्रित दलका नेताहरू भने धेरै देखिएनन् ।