
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको चन्द्रपुर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सिग्देलसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
प्रशासकीय अधिकृत सिग्देल, लेखा अधिकृत/राजस्व शाखा प्रमुख कीर्तिराज सुवेदी र आशिक कन्स्ट्रक्सनका सञ्चालक रामविनोद राउत बरैविरुद्ध बिहीवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
आशिक कन्स्ट्रक्सनसँगको मिलेमतोमा उक्त नगरपालिका अन्तर्गत पर्ने चाँदी नदीको नदीजन्य पदार्थ उत्खनन एवं बिक्री गर्न लगाएको ठेक्कामा अनियमित तवरले नदीजन्य पदार्थ उत्खनन गरी राजस्व छली गरेको पाइएको हो ।
चाँदी नदीको राजमार्ग दक्षिण नदीजन्य पदार्थ बिक्री(राजपैडादेखि नयाँ वस्ती मोतिपुरसम्मको ठेक्कामा आशिक कन्स्ट्रक्सन रौतहटसँग सम्झौता गर्दा तोकिएको नगद तथा बैंक जमानत पेस नगरी नलिई मूल्य अभिवृद्धि करसमेत दाखिला नगरी/नगराइ १५ लाख ६८ हजार रुपैयाँ राजश्व चुहावट गरेको अभियोग पत्रमा उल्लेख छ ।