०६ असार २०८३, शनिबार

इजरायलमा मारिएका सबै नेपाली विद्यार्थीको शव नेपाल आइपुग्यो, विपिन जोशीको उद्धारको प्रयास जारी​​

कात्तिक १९, २०८०
काठमाडौं
इजरायलमा मारिएका सबै नेपाली विद्यार्थीको शव नेपाल आइपुग्यो, विपिन जोशीको उद्धारको प्रयास जारी​​

हमास समूहको आक्रमणमा परी इजरायलमा मृत्यु भएका १० नेपाली विद्यार्थीको शव नेपाल आइपुगेको छ ।

गए राति फ्लाइ दुबईको विमानमार्फत ११ः३० बजे डोटी लामीखाल ८ का पदम थापाको शव नेपाल आइपुगेसँगै मृत्यु भएका सबै नेपाली विद्यार्थीको शव नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले बताए ।

उनले भने, ‘इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० विद्यार्थीको शव नेपाल ल्याइएको छ । इजरायलमा हाललाई उद्धार कार्य करिब करिब सकिएको छ । बेपत्ता भएका विपिन जोशीको उद्धारका लागि पहल भइरहेको छ ।’

दक्षिणी इजरायलमा गत असोज २० गते अर्थात् अक्टोबर ७ मा हमास समूहको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । 

आक्रमणमा परी डोटी लामीखाल ८ का पदम थापा, सल्यान सारदा ३ का प्रवेश भण्डारी, बझाङ जयपृथ्वी ६ का गणेशकुमार नेपाली, दार्चुला मालिकार्जन ४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम ५ का दीपेशराज विष्ट, धनुषा सापही ६ का आनन्द शाह, कैलाली घोडाघोडी ४ का नारायणप्रसाद न्यौपाने, सुनसरी मधुवन १ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली ३ का राजन फुलारा, तथा कैलाली बौनियाँ ३ का आशीष चौधरीको शव नेपाल ल्याइएको हो । 

सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत उनीहरू इजरायल गएका थिए । 

सोही आक्रमणमा परी कञ्चनपुर भीमदत्त ३ का विपीन जोशी सम्पर्कविहीन छन् । केही समय अघि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहितको टोलीले इजरायलमा फसेका दुई सय ५४ विद्यार्थीलाई उद्धार गरी नेपाल ल्याएको थियो ।

डोटी लामीखाल ८ का पदम थापा, डोटी पचनाली ३ का राजन फुलारा र सल्यान सारदा ३ का प्रवेश भण्डारीको शव आजै नेपाली सेनाको हेलिकप्टरमार्फत सम्बन्धित जिल्लामा पठाइने सहसचिव आरणले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्