

म्याग्दी, ९ असोज (रासस) : पहिरोका कारण अवरुद्ध बनेको बेनी–जोमसोम सडक छ दिनपछि सञ्चालनमा आएको छ ।
हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने यस सडकखण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ काभ्रेभिरमा सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो । बेनी–जोमसोम सडक ७६ किमीको छ ।
सडकमा सिधा सवारी सञ्चालन नहुँदा पर्यटक तथा सर्वसाधारण समस्यामा परेका थिए । विशेषगरी मुस्ताङमा उत्पादन भएको स्याउ बजारीकरणमा समेत समस्या आएको थियो । डोजरको सहायताले पहिरो पन्छाएपछि सोमबार दिउँसोदेखि यातायातका साधन सञ्चालन हुन थालेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिङ शेरचनले बताउनुभयो ।
बेनी–जोमसोम–कोरला सडक आयोजना, सडक निर्माणको जिम्मा लिएको निर्माण कम्पनी, नेपाली सेना र प्रहरीको पाँच दिनको पहलमा सडक सञ्चालन गरिएको हो । गजुरमुखी निर्माण कम्पनीको दुईवटा डोजर सडक मर्मतमा परिचालन गरिएको थियो ।
सडक खुलाउन नेपाली सेनाको रोहवरमा विस्फोटक पदार्थ प्रयोग गरेर ब्लास्टिङसमेत गरी पहिरो पन्छाइएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले बताउनुभयो ।