०५ साउन २०८३, मंगलबार

उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ नेताको भेटः दुई देशबीच थप हवाई उडान विस्तार गर्नुपर्नेमा जोड

कात्तिक २५, २०८०
काठमाडौं
उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ नेताको भेटः दुई देशबीच थप हवाई उडान विस्तार गर्नुपर्नेमा जोड

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी), तिब्बत स्वायत्त क्षेत्रका सेक्रेटरी वाङ छुङछेङ नेतृत्वको प्रतिनिधिमण्डलबीच शनिवार गृह मन्त्रालयमा भेटवार्ता भएको छ ।

भेटमा सेक्रेटरी छुङछेङले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा उनी र चिनियाँ राष्ट्रपति सी जिन पिङबीच भएको सहमति–सम्झौताको कार्यान्वयन पक्ष नै आफ्नो भ्रमणको उद्देश्य भएको बताए ।

प्रधानमन्त्री प्रचण्ड, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे र राजनीतिक दलका नेता र पदाधिकारीसँगको आफ्नो भेट उपलब्धिमुलक रहेको उनले स्मरण गराए । नेपालको सार्वभौम स्वतन्त्र नीतिको चीनले सधैँ प्रशंसा गरेको तथा नेपालले एक चीन नीति र तिब्बत पक्षमा देखाएको दृढता अविचलित रहेकोमा उनले खुसी व्यक्त गरे ।

चीनले नेपालको हरेक समस्यामा साथ दिने, अहिलेको भूकम्पमा पनि पहिलो चरणको सहयोग गरिएको र थप सहयोग गरिने छुङछेङले बताए । कोभिडका कारणले केही समय सीमामा समस्या भए पनि हाल पुराना सबै नाका खुलिसकेको, नेपाल र चीनबीचको व्यापार तथा पारवहन सुचारु भइसकेको तथा केही नयाँ नाका पनि खुलिसकेकोमा उनले खुसी व्यक्त गरे ।

प्रशासन सुधारका लागि नेपालको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई २० मिलियन चिनियाँ रुपैयाँ (आरएमबी) सहयोग गर्ने तयारी अन्तिम चरणमा पुगिसकेको जानकारी समेत उनले गराए ।

उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र चीनबीच सरकार, पार्टी र जनस्तर, तीनै तहमा उत्तिकै ऐतिहासिक एवम् हार्दिक सम्बन्ध रहेको बताए ।

नेपालको विपद् तथा विकासमा चीनको सहयोग अमूल्य रहेको समेत उनले उल्लेख गरे । भूकम्पमा, कोभिडमा र हाल पनि चीनले गरेको सहयोग अविस्मरणीय रहेको भन्दै उनले यसप्रति धन्यवाद व्यक्त गरे ।

चिनियाँ राष्ट्रपति सीको नेतृत्वमा अगाडि बढेको बीआरआई परियोजनालाई नेपालले आत्मसात गरिसकेको र यसमार्फत कमजोर अर्थतन्त्र भएका मुलुकको आर्थिक विकासमा टेवा पुर्याउने चीनको नीतिको उनले सराहना गरे । यसका लागि पूर्वाधारको कामलाई प्रभावकारी र व्यापक रुपमा अगाडि बढाउने गृहकार्य पनि सफल भइछाड्ने विश्वास उपप्रधानमन्त्री श्रेष्ठले व्यक्त गरे ।

नेपालको सीमा मामिला संघीय सरकारले हेर्ने र चीनको सीमा मामिला त्यहाँको केन्द्रीय, प्रान्तीय र इकाइ गरी तीनवटै सरकारले हेर्ने कारणले कहिलेकाही द्विपक्षीय सरोकारका समस्या आउँदा गरिनुपर्ने समन्वयलाई व्यावहारिक बनाइनु पर्ने छलफलसमेत भेटवार्तामा भएको उपप्रधानमन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठले विश्वको दोस्रो ठूलो अर्थतन्त्र बनिसकेको चीनले गरिबी निवारण र भौतिक विकासमा गरेको असाधारण प्रगतिबाट नेपालले पनि सिक्न चाहेको बताए । नेपाल र चीनबीच थप हवाई उडानहरू विस्तार गर्नुपर्नेमा समेत उनले जोड दिए ।  

बीआरआई सम्मेलनका क्रममा चीनमा आकस्मिक बिरामी पर्दा चिनियाँ सरकार र चिकित्सक एवम् स्वास्थ्यकर्मीले उपचारमा देखाएको तदारुकताबाट आफू धेरै नै प्रभावित भएको उपप्रधानमन्त्री श्रेष्ठले बताएका थिए । 

सेक्रेटरी छुङछेङले त्यो आफूहरूको दायित्व तथा कर्तव्य भएको र गम्भीर रोगलाई सामना गर्नसकेको एक ‘लक्की’ नेतासँग यसरी भेट हुँदा आफूहरूमा खुसीको सीमा नरहेको बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्