
कैलालीमा राति ९ बजेपछि नाचगान तथा देउसी भैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले सूचना जारी गर्दै सुरक्षालाई ध्यानमा राखेर रातिको ९ बजेपछि नाचगान तथा देउसी भैलो खेल्न रोक लगाएको हो ।
‘देउसी, भैलो, नाचगानलगायत कार्यहरू बढीमा राति ९ बजेसम्म मात्र सभ्य एवं शान्तिपूर्वक गर्न अनुरोध छ,’ प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलद्वारा जारी सूचनामा भनिएको छ, ‘राति अबेरसम्म देउसी भैलो खेल्दा चोरी डकैतीलगायतका घटनाहरू हुने भएकाले त्यसलाई ध्यानमा राख्दै अनुरोध गरिएको छ ।’
साथै तिहारको समयमा विस्फोटक पदार्थहरूसमेत बिक्री वितरण तथा प्रयोग नगर्न जिल्ला प्रशासन कार्यालय कैलालीले अनुरोध गरेको छ ।
